बृद्ध आरोहि शेरचनको सपना अधुरै रह्यो

बृद्ध आरोहि शेरचनको सपना अधुरै रह्यो
समाज

सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको निधन भएको छ । शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको सगरमाथा आधार शिविरमै निधन भएको नेपाल पर्वतारोहण संघ (एनएमए)ले पुष्टि गरेको छ । ‘सगरमाथा आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृतले आरोही शेरचनको निधनको पुष्टि गरेका छन्,’ एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले भने, ‘यो नेपाली आरोहण क्षेत्रका लागि अर्को दुःखद दिन हो ।’

अध्यक्ष शेर्पाका अनुसार शनिबार साँझसम्म सगरमाथा आधार शिविरमा रहेका डाक्टरहरूसँग सम्पर्क हुन सकेको छैन । तर, सरकारी सम्पर्क अधिकृतले भने हृदयाघातका कारण उनको निधन भएको प्रारम्भिक जानकारी दिएका छन् ।

यस वर्ष सगरमाथा आरोहण गर्ने गरी परमिट लिएका आरोहीमध्ये शेरचन मात्र विश्व रेकर्ड बनाउने लक्ष्य लिएका आरोही थिए । उनको आरोहण सफल भएको भए सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहण गर्ने आरोही बन्ने निश्चित थियो । शेरचन ८६ वर्षको उमेरमा सगरमाथा चुचुरो आरोहणको तयारीमा थिए । उनले ७६ वर्षको उमेरमा १२ जेठ ०६५ (२५ मे २००८) मा सगरमाथा चुचुरो आरोहण गरी सर्वोच्च शिखर चुम्ने विश्वकै पाको आरोहीको कीर्तिमान बनाएका थिए ।

Post Comment