भोट हाल्न जानै ५ घण्टा हिड्नुपर्ने यो ठाउँ

भोट हाल्न जानै ५ घण्टा हिड्नुपर्ने यो ठाउँ
समाज

रुकुमको एक मतदान केन्द्रमा पुग्न मतदाताहरुलाई ५ घण्टा पैदल हिड्नुपर्ने वाध्यता छ । दास्रो चरणको स्थानीय तह निर्वाचनमा मतदान केन्द्रमा पुग्न रुकुमकोट–४, को मैवाङबाट ५ घण्टा, झिम्काबाट ४ घण्टा र कुचिवाङबाट तीन घण्टा बढी पैदल हिड्नुपर्ने वाध्यता रहेको छ। तत्कालिन दुई गाविसका तीन वटा वडा मिलाएर नयाँ वडा बनाउदा त्रुटी भएकाले मतदानका लागि टाढा जानुपर्ने बाध्यता आएको मतदाताहरूको गुनासो छ ।

‘जान मात्र ५ घण्टा लाग्छ अनि आउन पनि त्यति नै समय खर्चनु पर्छ ।’ मैवाङका स्थानीय दुर्गाबहादुर बुढाले भने–‘आउन जान १० घण्टा लाग्छ अनि कति बेला लाईन लाग्ने ? कति बेला भोट हाल्ने ? कति बेला घर फर्किने ?’ मतदान केन्द्रमा पुगेर भोट खसाली सोही दिन घर फर्किने अवस्था नरहेको मतदाताहरुको गुनसो छ ।

साविकको रुकुमकोट गाविसको ४ नम्वर वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भुमे–८ को मतदान केन्द्र साविकको महत गाविस–८, को आधारभुत विद्यालय भोल्टीमा कायम गरिएको छ ।

सबैभन्दा बढी अपाङ्ग र जेष्ठ नागरिकलाई मतदानको लागि मतदान स्थलसम्म पुग्न समस्या हुने देखिएको छ । तर यसतर्फ सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको स्थानीयको गुनासो छ । उकालो, ओरालो र वर्षायामको बेला खोलानालामा आउने उर्लदो भेल छिचोलेर मतदाता सजिलै मतदान स्थलसम्म पुग्ने सहज अवस्था छैन ।
स्थानीय भूगोललाई अध्ययन नै नगरी नयाँ वडा बनाइएको तथा मतदान केन्द्र कायम गरिएको भन्दै त्यस क्षेत्रका नागरिकहरु आक्रोशित भएका छन् ।

Post Comment