३० लाख रुपैयाँ फिरौती माग्दै हत्या गरिदिने धम्की दिने व्यक्ति पक्राउ

३० लाख रुपैयाँ फिरौती माग्दै हत्या गरिदिने धम्की दिने व्यक्ति पक्राउ
समाज

रुपन्देहीमा ३० लाख रुपैयाँ फिरौती माग्दै रकम नदिए छोराहरुसहित परिवारकै हत्या गरिदिने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना ५ बस्ने २२ वर्षीय लोकनाथ न्यौपानेलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको साविक अमुवा ४ हाल सियारी गाउँपालिका ७ हिरागञ्ज बस्ने अर्जुन भट्टराईसँग न्यौपानेले फिरौती माग्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीका अनुसार न्यौपानेले यही जेठ १९ गतेदेखि फिरौती माग्दै आएका थिए ।

मोवाइलबाट पटक–पटक फोन र एसएमएस गरी फिरौती माग्दै आएको अवस्थामा बुटवल १२ तामनगरबाट न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले ३० लाख नदिए छोराहरुको अपहरण गर्ने र सवै परिवारलाई नै हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ । फिरौती माग गरि धम्की दिएको सूचना प्रहरीले पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी नायव उपरिक्षक मुकुन्द्र मरासिनीको नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो । मरासिनीको नेतृत्वको टोली न्यौपानेलाई पक्राउ गर्न सफल भएको हो । न्यौपानेलाई अपहरण उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान थालेको मरासिनीले बताए ।

Post Comment