विधान संशोधनको माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले आह्वान गरेको चारदिने बन्दको दोस्रो दिन बुधबार पनि तराई मधेसको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सार्वजनिक यातायात सञ्चालन भएका छैनन् भने शैक्षिक संस्था, उद्योग कलकारखाना बन्द छन् । यातायातका साधन सञ्चालन नहुँदा यात्रु बाटोमै अलपत्र परेका छन् भने सरकारी कार्यालय र स्वास्थ्य संस्थामा सेवाग्राहीको उपस्थिति न्यून छ ।
जिल्ला सदरमुकाम गौरको सिसुवाचोकमा बजार बन्द गराउँदै हिँडेका बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा एक प्रहरी जवान घाइते भएका छन् भने राजपाका तीन कार्यकर्ता पक्राउ परेका छन् । झडपका कारण सिसुवाचोक दिनभर तनावग्रस्त बनेको थियो । मोर्चाका कार्यकर्ताले बजार बन्द गर्नुका साथै प्रहरी सवार भारतीय नम्बरको गाडी तोडफोड गर्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोख्रेलले जानकारी दिए । घाइते प्रहरी जवानको हात भाँचिएको प्रहरीले जनाएको छ । घाइते प्रहरी जवानको नाम भने खुलाइएको छैन । मोर्चाका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । पक्राउ पर्नेमा रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादव रहेका छन् । झडपपछि गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको तैनाथी बढाइएको छ । म्यादी प्रहरीहरूलाई पनि सुरक्षामा परिचालन गरिएको छ ।
निर्वाचन बहिष्कारको निर्णय गरेको राजपाले चारदिने बन्द आह्वान गरेको छ । बन्द अवज्ञा गरेको भन्दै राजपाले ना.३ख ५६२२ नम्बरको यात्रुबस तोडफोड गरेका छन् । बन्दका कारण चन्द्रनिगाहपुरबाहेक, गौर, गरुडा, कटहरियालगायत बजार बुधबार खुलेका छैनन् ।