बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बैतडी शिवनाथ ४ सोल्फोलाका ५८ वर्षीय लाल सिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले बताए ।
यस्तै घाईते हुनेहरुमा जिपका साहु कैलाली गोदावरी नगरपालिका १ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका ९ विशालपुरका हरिदत्त भट्ट रहेका छन् । घाईतेको स्थानीय शर्माली स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
बैतडीको तल्लोस्वराडको सुल्लेखानवाट कुस्मतघाटतर्फ गईरहेको से १ च ११५८ नम्वरको जिप विहिबार बिहान ११ बजे शिवनाथ २ को बस्कोटी भन्ने ठाउँमा दुर्घटनामा परेको स्थानीय विरेन्द्र महतोले बताए । जिपको अगाडीको बाँयासाईडको चक्का निस्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकवाट २० मिटर तल खोलामा खसेको बताईएको छ ।