बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुवा–छोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् ।
डिलाशैनी गाउँपालिकामा कर्ण बहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर राना (शितल) ले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् ।
नाताले दाजुभाइ परेपनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताउनुभयो । दुवै भाइले एकैपदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्नका लागि समस्या भएको छ ।
यस्तै पुरचौडी नगरपालिका वडा नं ७ मा वडा अध्यक्ष पदका लागि बुवा–छोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउद (बुवा) एमालेबाट र उज्ज्वल साउद (छोरा) ले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवारी दर्ता गराएका हुन् ।
आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ– आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउदले बताउनुभयो । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका उज्ज्वल साउदले उम्मेदवारी दर्ताका विषयमा बुवासँग कुनै छलफल नभएको बताउनुभयो ।
एउटै पदका लागि बुवा–छोरा र दाजुभाइ उम्मेदवार
