पोखरामा अब राती अवेरसम्म सार्वजनिक सवारी चल्ने भएका छन् । हाल साझ ७ बजेसम्म सञ्चालन हुने नगरवसको समय बढाएर ९ बजेसम्म पुर्याउन लागिएको हो ।
गत जेठ ३० गते बसेको यातायात ब्यवस्था समितिको बैंठकले गठन गरेको कार्यदलले दिएको सुझावका आधारमा तत्कालको लागि दुई वटा रुट पहिचान गरी राती ९ बजेसम्म नगरवस सञ्चालनको लागि सिफारिस गरिएको छ । कार्यदलका संयोजक एबं जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनील शाहीको अध्यक्षमा विहिवार वसेको बैंठकले तत्काल सवारी सञ्चालन गर्ने रुट पहिचान गरेको हो ।
पहिलो चरणमा हल्लनचोकदेखि काँहुखोला सम्म र फेवातालदेखि विरौटा हुदै केआईसिंह पुल सम्मको रुटमा राती ९ बजेसम्म नगर वस सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसका लागि पोखरा बस व्यवसायी समिति अन्तर्गतको ८ वटा बस दुई वटा रुटमा चार चार वटाको दरले गुड्नेछन् । प्रत्येक आधा घण्टाको फरकमा बस छुट्ने गरी क्यू ब्यवस्थापनको जिम्मा सम्बन्धित यातायात व्यवसायी समितिलाई दिइएको कार्यदलका संयोजक शाहीले बताए ।
‘तत्कालको लागि कुन समितिको कति वटा बस, कुन कुन समयमा छुटाउने र कुन रुटमा कति बजेसम्म चलाउने भन्ने निक्र्योल भएको छ,’ शाहीले भने ‘ सम्बन्धित व्यवसायी समितिले मजदुर संघसंगठनसँगको छलफलपछि कहिलेदेखि सञ्चालनमा ल्याउने भन्ने निर्णय गर्नेछ । ’ संभवत साउन १ गतेदेखिनै यी दुई रुटमा राती ९ बजेसम्म नगरवस सञ्चालन हुनेछ ।
राती सम्म नगर बस सञ्चालन गर्दा यात्रु नपाइने भएकाले नीजि क्षेत्रका विभिन्न संघ संगठनलाई राती सम्म व्यवसाय सञ्चालनको लागि आग्रह गर्ने निर्णय पनि गरिएको छ । साथै ट्राफिक प्रहरी र नेपाल प्रहरीले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने निर्णय समेत गरिएको छ । बैंठकमा कार्यदलका संलग्न यातायात कार्यालय, ट्राफिक प्रहरी कार्यालय, पोखरा बस व्यवसायी समिति, पृथ्बी राजमार्ग वस सञ्चालक समिति, वेगनास वस व्यवसायी समिति, स्थानीय श्रृङ्गा बस व्यवसायी समिति तथा मजदुर संग संगठनका प्रतिनिधिको सहभागीता थियो ।