सत्तरी वर्षीय विद्यार्थी दुर्गे कामीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गरेका छन् ।
परराष्ट्र मन्त्रालायमा आज मन्त्री महरालाई भेटी कामीले एसइई (एसएलसी) परीक्षा पास गरेकाले थप अध्ययनका लागि सहयोग गरिदिन आग्रह गरेका हुन ।
स्याङ्जाको कालाभैरव माविबाट एसइई परीक्षा उत्तिर्ण गरेका कामीले आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो गर्दै मन्त्री महरासँग भने, ‘मलाई ११, १२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिनुप¥यो ।’
उच्च शिक्षा पढेर उन शिक्षक बन्ने लक्ष्य लिएका कामीलाई मन्त्री महराले यो उमेरमा एसइई परीक्षा उत्तीर्ण गरेकोमा बधाई दिदै उच्च शिक्षाप्रतिको आकांक्षालाई सम्बोधन गर्न अध्ययनका लागि आवश्यक वातावरण मिलाउन पहल गर्ने बताए ।
सोही अवसरमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएको छोरा विगत तीन वर्षदेखि जेलमा रहेको बताउँदै कामीले आफ्नो छोरा नेरेन्द्रलाई साउदीको जेलबाट मुक्त गरी नेपाल फिर्ता ल्याउन पहल गरिदिन पनि अनुरोध गरे । उनले भने, ‘के कारणले छोरा जेलमा परेको हो, थाहा छैन, तर उसलाई नेपाल फर्काउने व्यवस्था गरिदिनु प¥यो ।’ मन्त्री महराले नरेन्द्रको अवस्थाबारे जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिए ।