शुक्रबारदेखिको अविरल वर्षासँगै आएको बाढीले तराईसहित देश नै आक्रान्त बनेको छ । जनधनको ठूलो क्षति भएको छ, हजारौं नागरिक घरवार विहिन बनेका छन् । यसैक्रममा मन रुवाउने हृदयविदारक तस्वीर सार्वजनिक भएको छ । जहाँ पिताले डुबानमा परी ज्यान गुमाउन पुगेको आफ्नो छोराको शवलाई खाल्डोमा पुरेर दाहसंस्कार गर्न पाएनन् । जताततै पानीले डुबान भएपछि उनले छोराको शवलाई पानीको भेलसँगै बगाइदिए ।
यो दर्दनाक घटना हो सप्तरीको कोइलाडी– ६ को । जहाँ ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाइएको हो । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए ।
कमललाई बगाएको तस्वीर यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले आफ्नो क्यामेरामा कैद गर्न भ्याए । उक्त तस्वीर अहिले सामाजिक सञ्जालसहित चौतर्फी भाइरल भएको छ । धेरैले दुःख व्यक्त गरेका छन् भने धेरैलाई भावुक बनाएको छ ।