नेपाली सेनाले सैनिक कमाण्ड तथा स्टाफ कलेज प्रवेश परिक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय गरेपछि नेपाली सेनाकी महिला गुल्मपति सृष्टी खड्का पहिलो महिला प्रधानसेनापति बन्न सक्ने चर्चा सेनाभित्र चल्न थालेको छ ।
३० बर्षीया खड्का पहिलो महिला गुल्मपति मेजर बनेकी छिन् । उनलाई नेपाली सेनाको माथिल्लो पदमा जान स्टाफ कलेज अनिवार्य पास गर्नुपर्ने छ । महिला सैनिकलाई यसअघि स्टाफ कलेजमा प्रवेश गराइएको थिएन । महिला सैनिकलाई स्टाफ कलेजमा प्रवेश गराउने निर्णयसँगै खड्का पहिलो महिला सेनापति बन्नसक्ने चर्चा चलेको छ ।
राजनीति शास्त्रमा स्नातक गरेकी सृष्टी खड्का २०६१ सालमा नेपाली सेनामा प्रवेश गरेकी हुन् । उनको नेतृत्व विकासका लागि नेपाली सेनाले छुट्टै गुल्म बनाई खड्कालाई गुल्मपति बनाएको छ । उनले अब केही समयमै स्टाफ कलेजमा परिक्षा दिन पाउने भएकी छिन् । स्टाफ कलेज पास गरेपछि प्रधानसेनापति बन्ने बाटो खुल्नेछ ।
शान्ति स्थापनार्थ सुडानमा खट्टिएर इन्फेन्ट्री युनिटको अनुभव समालेकी खड्का सेनाको मनोबैज्ञानिक शाखा, सुदुरपश्चिम पृतना हेडक्वाटर, राष्टिय सेवा दलमा बसेर अनुभव लिइसकेकी छिन् । नेपाली सेनाभित्र पनि उनलाई प्रधानसेनापति बनाउने गरी तयारी थालिएको छ ।