नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादशैंको साइत सार्वजनिक गरेको छ ।
आगामी असोज ९ गते सोमबार पचली भैरवयात्रा परेको छ । असोज ११ गते बुधबार दसैंघर वा कोठामा फूलपाती भित्र्याइन्छ ।
फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ ।
फूलपातीका दिन तुलजा भवानीयात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसैदिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।
असोज १२ गते बिहीबार महाअष्टमी, त्यसैदिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजयादशमी परेको छ ।
विजयादशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ ।
सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए ।
‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीकाग्रहण गर्नुपर्छ, सर्वसाधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गादेवीका प्रसादकारुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ’–उनले भने ।
विजयादशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजयादशमीकै दिन खड्गयात्रासमेत हुनेछ ।
असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ ।
असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैं पर्व समापन हुन्छ ।
नेपाल राज्यभर दसैं महान् पर्वकारुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक–आपसमा जम्मा भइ दसैं मनाउने गर्छन् ।
यही पर्वका अवसरमा लामो समय सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइन्छ ।