रात्रिकालीन व्यवसायबाट ७० हजारलाई रोजगारी

रात्रिकालीन व्यवसायबाट ७० हजारलाई रोजगारी
समाज

रात्रिकालीन व्यवसायबाट करिब ७० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । यो व्यवसायमा दैनिक १५ करोडभन्दा बढीको कारोबार हुने गरेको र दैनिक ७० भन्दा बढीले रोजगारी पाएको रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूले बताए । उनले भने, ‘रात्रिकालीन व्यवसाय गर्ने सहज नभए पनि व्यवसायमा लगानी भने जबरजस्तढंगले बढिरहेको छ । रात्रिकालीन व्यवसायलाई सरकारले सुरक्षित बनाउनुतर्फ ध्यान दिनुपर्छ ।’

गत असार महिनाअघि गृहमन्त्री जनार्दन शर्माले ठमेल र दरबारमार्गलाई २४ सैँ घण्टा खुलाउन आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै त्यसका लागि तयार हुन व्यवसायीलाई आग्रह गरेका थिए । तर सरकारले भनेजस्तो २४ सै घण्टा सुरक्षा व्यवस्था नमिलाएको व्यवसायीले गुनासो गरेका छन् । रात्रिकालीन मनोरञ्जनका लागि व्यवसायीले करोडौँ लगानी गरिरहेको भएपनि अन्य व्यवसाय सुरक्षित नभएपछि पछिल्लो समय क्लब तथा लाउन्जबारमा लगानी गर्ने क्रम बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले बताए । उनले भने, ‘रात्रिकालीन व्यवसायमा लगानी बढ्नु सकारात्मक भए पनि व्यवसायको सुरक्षा चुनौतीपूर्ण रहेको छ । जसका लागि सरकारले विशेष क्षेत्र घोषणा गरेर व्यवसायी र व्यवसायको सुरक्षाको व्यवस्था गर्नुपर्छ ।’

हाल राजधानीमा मात्र नभएर राजधानीबाहिर पनि स्वदेशीमात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउन्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढ्दै गएको व्यवसायीले बताएका छन् । पर्यटकीयस्थल ठमेल, दरबार मार्गमात्र नभई नयाँ गन्तव्य बनेको झम्सीखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, सातदोबाटो, सूर्यविनायक, गौशाला, नयाँबसपार्क, कलंकी, कपन, स्वयम्भूलगायतका क्षेत्रमा यस्ता व्यवसाय विस्तार भइरहेका छन् । पुराना डेजाबु, काउजी, सर्कल, इबिज्जा, फायर क्लब, ओएमजी, पर्पल हेज, कर्मा, शिशा बारलगायतका क्लब तथा लाउन्ज मर्मत र लगानी थपी नयाँ संरचनासहित खुलेको उनीहरूले बताएका छन् । नेपाली र विदेशी पर्यटकको ओइरो लाग्न थालेपछि लगानीमा आकर्षण बढेको ठमेलमा विगत १५ वर्षदेखि रात्रिकालीन व्यवसाय गर्दै आएका आयुष ठकुरीले बताए ।

अहिले उनले रात्रिकालीन व्यवसायमा २ सयभन्दा बढीलाई रोजगारी दिएका छन् । ठमेलको ओएमजी डिस्को र पर्पल हेज बढी पर्यटक जाने थलो भित्र पर्छ । विशेषगरी ओएमजीमा शुक्रबार विदेशी पर्यटकको बढी घुइँचो लाग्ने गरेको क्लब तथा ‘हृयाङ आउट’ रेस्टुराँका व्यवस्थापक सरोज खड्काले बताए । उनले भने, ‘रात्रिकालीन व्यवसायमा सबैभन्दा ठूलो समस्या यातायातको छ । टयाक्सीले बढी ठग्ने गरेकाले व्यवसायमा असर परेको छ ।’ आम्दानीसँगै यो व्यवसायमा चुनौती पनि छ । व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धा र बेलाबेला प्रहरी प्रशासनको हस्तक्षेप झेल्नुपर्ने अवस्था छ । घरभाडा र कर्मचारीको तलब गरी मासिक एक व्यवसायी बराबर २० लाख रुपैयाँसम्म खर्च हुने गरेको व्यवसायीले बताएका छन् । एउटा क्लब सञ्चालनका लागि कम्तीमा एक करोड रुपैयाँ लगानी गर्नुपर्छ । रात्रिकालीन व्यवसायी संघका प्रवक्ता लिम्बूका अनुसार रात्रिकालीन व्यवसायमा हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।

Post Comment