मोरङको बेलबारी २ देबीथानडाँडामा एक दलित बालिकामाथि चोरीको आरोपमा कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर यातना दिइएको छ । बिहिबार दिउसो स्थानीय १४ वर्षीया परियार थरकी बालिकालाई चोरीको आरोप लगाउँदै कालोमोसो दलेर जुत्ताको माला सहित सिस्नुपानी लगाएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले भेटी उद्धार गरेको छ ।
कुटपिटबाट बालिका घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार गराइएको छ । आर्थिक अवस्था कमजोर भएकी ती बालिकाका बुबा भारतमा मजदुरी गर्छन् । उनकी आमा संगीता परियारले घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रहरीमा निवदेन दिएकी छन् । पीडित बालिकाले आफुले पैैसा नचोरेको र आफुले लिनुपर्ने पैसा लिँदा आफुलाई कुटपिट गरी कालोमोसो दलेको गुनासो गरिन् । स्थानीय कबिर माविमा कक्षा ६ मा अध्यायनरत ती बालिका कुटपिटका कारण बोल्न समेत नसक्ने अवस्थामा पुगेकी छिन ।
पीडित बालिकासँगै उनकी कान्छी काकीले पनि कुटाइ खाएकी छन् । बालीकाका काकाले काकी प्रमिला परियारलाई कालो मसो दलेर कुटपिट गरेका थिए प्रमिलाकी आमा सहित भएर कालो मोसो दलेको भन्दै आफूलाई श्रीमानले कुटेको उनले बताइन् । उनले श्रीमानका नाममा समेत उजुरी दिएकी छन् ।
सोही घटनामा संलग्न भएका स्थानीय ४५ वर्षीय दुर्गा चौधरी र ५० वर्षीय कुलदिप कुँवर दनुवार पक्राउ परेका छन् । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्र्तगत कारबाही गरिने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए ।