रेन्बो चिल्ड्रेन होम – नेपालको नबौं साधारणसभा सम्पन्न

रेन्बो चिल्ड्रेन होम – नेपालको नबौं साधारणसभा सम्पन्न
समाज


पोखरा, २८ असोज । पोखरा लेखनाथ महानगरपालिका–६, बैदाम डिहिकोपाटनस्थित रेन्बो चिल्ड्रेन होम, नेपालको नबौं साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजेन्द्र थापाले आगामी आर्थिक बर्ष २०७४÷०७५ को प्रस्ताबित कार्यक्रमहरुको प्रतिवेदन, सचिव ईन्दिरा लामिछाने कँडेलले २०७३÷०७४ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष उर्मिला लामिछानेले २०७३÷०७४ को कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रमूख अतिथि एवम् पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले साधारणसभाको उद्घाटन गरेका हुन्। पहारीले उद्घाटन मन्तब्यमा पोखरालाई बालमैत्री नगर बनाउन आफ्नो सक्रिय भूमिका रहने बताए। उनले बालबालिकाहरुका लागि स्थानीय सरकारले छुट्याएको बजेट बालगृहहरुको साझेदारीमा कार्यक्रमहरु सञ्चालन गर्ने बताए।

जिल्ला बाल कल्याण समितिका श्रोतब्यक्ति बद्रिप्रसाद वाग्लेले बेसहारा बालबालिकाहरुको आश्रय दिएर बालगृहहरुले नेपाल सरकारलाई सहयोग गरेको बताए। नेपालका बालगृहहरुले बालबालिकाको क्षेत्रमा धेरै कामहरु गरेको वाग्लेको भनाई थियो।

बालगृह सञ्जालका सचिव बिजयकुमार प्रधानले पोखरा लेखनाथ महानगरको वडा नं ६ लाई बालमैत्री नगर बनाउन उक्त वडाका जनप्रतिनिधि जनप्रतिनिधिहरुलाई आग्रह गरे। बालबालिकाहरुको संरक्षणका लागि कास्की जिल्ला उत्कृष्ठ रहेको प्रधानको कथन थियो।

कार्यक्रममा संस्थाका प्रमूख सल्लाहकार अग्नीप्रसाद कँडेल, बालगृह सञ्जाल कास्कीका कोषाध्यक्ष कृष्ण आचार्य, पोखरा लेखनाथ महानगरपालिका–६ की महिला वडा सदस्य पुष्पा पहारी, पोखरा पर्यटन परिषदका कोषाध्यक्ष नवराज अधिकारी, टान पश्चिमाञ्चलका अध्यक्ष दिपक अधिकारी, अनुपम संगीत केन्द्रका सञ्चालक अनुराग अधिकारी, महिला टोल समन्वय समितिकी संयोजक बिष्णु के.सी. महिला मञ्चकी अध्यक्ष जमुना पहारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका अध्यक्ष राजेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी निर्देशक गोमा ढकालले संस्थाबारे प्रकाश, सह–निर्देशक खिमबहादुर लामिछानेले स्वागत र सञ्चारकर्मी प्रमिला बरालले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

०६५ देखि बाल गृहका रुपमा सञ्चालनमा आएको रेन्बो चिल्ड्रेन होम, नेपालले हाल अति बिपन्न बर्गका कलिलो उमेरको ४१ जना बालबालिकाहरुलाई आवास सहित शैक्षिक सेवा प्रदान गर्दै आएको छ। संस्थाले ४५ जना बालबालिकाहरुका लागि बिद्यालय शुल्क, पोशाक, किताव र शैक्षिक सामग्री लगायतका संपूर्ण शैक्षिक सुबिधाहरु उपलब्ध गराउँदै आएको छ।

सामाजिक उत्तरदायित्व अन्तरगत रेन्बो चिल्ड्रेन होम नेपालले गत बर्षको साउन २४ गते धादिङको गोगनपानीमा हेल्थपोष्टको स्थापना एवम् निर्माण पूरा गरी स्थानीय समूदायलाई हस्तान्तरण गरिसकेको छ। कास्कीको चापाकोटमा १६ दिने महिला हिंशा बिरुद्धको कार्यक्रम र कालिकोट जिल्लाको मुम्रा गाउँमा न्यानो कपडाको राहत बितरण गरेको छ।

Post Comment