धादिङको गजुरी नजिकबाटै त्रिशूली नदीमा खसेको बसबाट १० जनाको शव निकालिएको छ । अहिलेसम्म एक बालक, ६ जना पुरुष र चार महिलाको शव निकालिएको प्रहरीले जनाएको छ ।
उनीहरुको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय गजुरी प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४ ६७ नम्बर बस गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूलीमा खसेको हो । प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् ।
बस नदीमा खस्दा घाइते भएका १५ जनाको उद्धार गरिएको छ । घाइते मध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
५५ जनाले टिकट काटेर चढेकाले अझै ३० जना हराइरहेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । घाइते १३ जनाको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने दुईजनालाई काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।