बेलुका रमाउदै घुम्न निस्केका एकै परिवार ८ जनाको मृत्युले सिङ्गो गाउँ नै स्तब्ध

बेलुका रमाउदै घुम्न निस्केका एकै परिवार ८ जनाको मृत्युले सिङ्गो गाउँ नै स्तब्ध
समाज

कसको मन थामिएला र ? दुर्घटनामा परिवारका ८ जनाको एकैपल्ट निधन भएपछि । अहिले राजविराज नगरपालिका वडा नम्बर १६ स्थित बोरिया गाउँका बासिन्दा र मदन झाको घरमा यस्तै मार्मिक अवस्था देखिएको छ ।

झा परिवारका साथै पूरै गाउँ शोकमा डुबेको छ । सप्तरी सदरमुकाम राजविराजबाट शुक्रबार बेलुका साढे ६ बजे छुटेको गाडी शनिबार बिहान त्रिशूली नदीमा खसेको समाचार सुन्दा जिल्लामा दुःख छायो । बिहानैदेखि स्थानीय बासिन्दा आफन्तको खबर बुझ्न दिवा तथा रात्री बस बुकिङ ब्यवस्था समितिको कार्यालय र प्रहरीमा दौडधुप थालेका थिए ।

केहीबेरमै त्रिशूली नदीबाट शव निकाल्ने काम भइरहेको र १९ जनाको शव निकालि सकिएको र त्यसमध्ये सप्तरीका १५ जना परेको खबर आएपछि सिंगो सप्तरी नै शोकमा डुब्यो ।

दुर्घटनामा राजविराज–१६ बोरियाका मदन झाको परिवारकै ८ जनाको ज्यान गएको छ । शनिबार बोरियामा टोलभरी चुलो बलेनन् ।

घटनाको खबर सुन्ने वित्तिकै झाको घरमा आफन्त र शुभचिन्तकको भीड लागेको छ । दुर्घटनामा परि मदन झाकी भाउजु ७० वर्षकी चन्द्रावती झा, २२ वर्षका छोरा आदित्य झा, २० वर्षकी छोरी पूजा, २८ वर्षकी छोरी सिम्मी, ३० वर्षका ज्वाई संजीत झा, ज्वाईका २६ वर्षका भाइ अंजित झा, ५ वर्षका नाति अभिनव र ३ वर्षका नाति प्रतिक गरी ८ जनाको ज्यान गएको छ ।

काठमाडौंको चावहिल स्थित नेपाल बैंक लिमिटेड शाखामा ऋण शाखाका प्रमुखको पदमा कार्यरत ज्वाँइ संजितले छठ पूजा सकेपछि सबैलाई काठमाडौं घुमाउन लैजाने जिद्दि गरेपछि आफैले शनिबार बसको टिकट काटेर गाडीमा चढाई बिदाई गरेको भक्कानिँदै मदन झाले सुनाउनुभयो । ‘शुक्रबार बेलुकासम्म सँगै हाँसे खेलेकाहरुको एक्कासी विभत्स मृत्युको खबरले संसारै हराएको जस्तो लागेको छ’ उहाँले रुँदै भन्नुभयो ।

Post Comment