एनआरएनले साउदीको जेलमा रहेका थानेश्वरलाई साढे १२ लाख सहयोग गर्ने

एनआरएनले साउदीको जेलमा रहेका थानेश्वरलाई साढे १२ लाख सहयोग गर्ने
समाज

गैर आवासीय नेपाली संघले (एनआरएनए)ले साढे ३ वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसाललाई छुटाउन १२ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

आठौं विश्व सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक संघको आपतकालिन राहत कोषबाट रकम दिने निर्णय गरेको हो । बैठकले विभिन्न कारण मध्यपूर्व तथा मलेसियामा जेल सजाय भोगिरहेका नेपालीको तथ्याङ्क संकलन गरेर उद्धारको कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय भुसाललाई जेलबाट छुटाउन प्रवासी नेपाली समन्वय समितिको सहयोगमा नेपाली र साउदीमा अभियान चलिरहेको छ । उहाँलाई मुक्त गराउन डेढ लाख रियाल लाग्ने भएको छ । तोकेको जेल अवधि सकिएपनि जरिवाना रकम बुझाउन नसक्दा उहाँ अझै छुट्न सक्नुभएको छैन ।

थानेश्वरलाई लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । २०६८ असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा पर्नुभएको थियो । उहाँले चलाएको टिपरमा अर्को गाडीले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने गाडीमा  रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिने अर्को गाडीमा रहेका गरी दुई जनाको ज्यान गएको थियो ।

दुर्घटनामा थानेश्वर घाइते हुनुभएको थियो । दुर्घटनापछि झण्डै १० महिना जेल परेका उहाँ जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीका साहुले घर आउन नदिई फेरि काममा लगाएको आमा यमकला भुसालले बताउनुभयो । दोस्रो पटक घर फर्कने बेलामा पनि साउदीको प्रहरीले उहाँलाई त्यही मुद्दामा पक्राउ गरेको हो । उहाँ जेल बसेको साढे ३ वर्ष भइसकेको छ ।

Post Comment