अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा परेका व्यक्तिहरुका लागि प्लस टुको नक्कली सर्टिफिकेट बनाइदिएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
उनीहरुमध्ये मोक्तान र भट्टराई नक्कली कागजात पेस गरेर दूतावासमा अन्तर्वार्ता दिँदैगर्दा पक्राउ परेको जनाइएको छ ।
पक्राउ परेकाहरुले डीभी परेका व्यक्तिहरुका लागि सरकारी छाप र दस्तखत कीर्ते गरी प्लस टु को माइग्रेसन सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट र ट्रान्सक्रिप्ट सर्टिफिकेटहरु बनाउने गरेको प्रहरीले जनाएको छ ।
नक्कली सर्टिफिकेट बनाइदिएबापत १२ हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्म लिने गरेकोसमेत प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभय पोखरेल यसअघि पनि सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा कारबाही भोगिसकेको व्यक्ति भएको पनि प्रहरीले जनाएको छ ।
कोरिया पठाउने भन्दै ठगी
यस्तै, दक्षिण कोरियामा भिजिट भिसा लगाइदिने र उता कामसमेत लगाइदिने भन्दै भन्दै ठगी गरेको आरोपमा पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई गत असोज ९ गते नै पक्राउ गरिएको थियो । सार्वजनिक भने मंगलबारमात्र गरिएको हो ।
सो समूहले दोलखाका ८ जना व्यक्तिलाई बैंकहरुको कीर्ते बैंक ‘स्टेटमेन्ट’समेत बनाउन लगाइ भिसाका लागि कोरियन दूतावासमा पेस गरेको पाइएपछि पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।
सोही समूहले विभिन्न दलका नेताहरु विदेशका सभा–सम्मेलनमा जानेक्रममा व्यक्तिहरुलाई ‘डेलिकेट्स’ बनाइ ठूलो रकम लिएर पठाउने गरेको पाइएकोसमेत प्रहरीले जनाएको छ ।
यस्तो गर्दा प्रतियक्ति प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म असुल्ने गरेकोसमेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।