देशका विभिन्न स्थानमा निर्वाचनविरोधीहरुले एकपछि अर्को गर्दै बम विस्फोट गराइ आतंक सिर्जना गराइरहेका छन् ।
प्रहरी प्रशासनले यस्ता गतिविधिमा संलग्न रहेका केहीलाई नियन्त्रणमा लिएको भएपनि यस्ता घटनामा भने कमी आउन सकेको छैन ।
चुनावलाई लक्षित गर्दै एकपछि अर्को बम विस्फोट गराइ जनमानसलाई आतंकित गराउने प्रयास झन् बढेको छ ।
चुनावविरोधीहरु चुनावीसभा, र्यालीमा जनसहभागिता नहोस् तथा मतदानका समयमा मतदाता मत दिन जान नसकून् भन्ने मानसिकताका साथ बम विस्फोट गराइ आतंक सिर्जना गर्न लागेको देखिन्छ ।
चुनावी घरदैलोमा दलका उम्मेदवार र कार्यकर्ता व्यस्त भइरहेका बेला हिंसावादीहरु हिंसात्मक गतिविधिलाई प्रश्रय दिन जुटेका छन् ।
जनतालाई मतदान केन्द्रसम्म जान नदिने अनेक प्रयत्नमा जुटेका चुनावविरोधीका हर्कतलाई झेल्दै पहिलो चरणको चुनावमा मतदाताले उत्साहपूर्वक मतदानमा सहभागिता जनाए ।
अहिले फेरि दोस्रो चरणको चुनाव प्रभावित बनाउन एकपछि अर्को विस्फोट गराउन थालिएको छ ।
जिल्लास्थित सुरक्षा निकायहरुले सुरक्षा व्यवस्था सुदृढ बनाएको जनाएपनि सुरक्षा निकाय र अधिकारीहरुको नाकैअगाडि विस्फोटका घटना भइरहेका छन् ।
यद्यपि, मानवीय क्षति हुनबाट जोगिएको छ । र, यो आतंक फैलाउने नियतका साथ भइरहेको प्रस्ट देखिन्छ ।
मंगलबारमात्रै मोरङ, झापा, सप्तरी, उदयपुरलगायत जिल्लाका विभिन्न स्थानमा बम विस्फोट गराइए ।
तैपनि, सुरक्षा व्यवस्थामा कुनै कमी नरहेको भन्न सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखहरु छुटाउँदैनन् ।
मंगलबारमात्रै सप्तरीको राजविराज–कुनौली सडकखन्डस्थित रन्जितपुरमा शक्तिशाली टाइमबम फेलापर्यो ।
समयमै सूचना पाउँदा नेपाली सेनाले उक्त बम निस्क्रिय पार्न सफल भयो र मानवीय क्षति हुनबाट जोगियो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयनजिकै बम राख्नु चानचुने विषय पक्कै होइन । तैपनि, आतंक सिर्जना गर्नेहरु यसका एकपछि अर्को गर्दै सफल भइरहेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम पड्काउने योजना बनाइरहेको अवस्थामा प्रहरीले बम बरामद गरेको हो ।
प्रहरीले शंकास्पद दुईजनालाई चेकजाँच गर्दा उनीहरुका साथबाट अत्याधुनिक रिमोट पनि फेलापरेको छ । उनीहरुकै बयानका आधारमा बम फेला पारिएको हो ।
उता, झापा क्षेत्र नम्बर–३ का नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाको चन्द्रगढीस्थित घरमै बम विस्फोट गराइयो ।
जबकि, सिटौलाको सुरक्षाका लागि हरदम सुरक्षाकर्मी तैनाथ गरिएको छ । त्यहीबीचमै उनको घरको कम्पाउन्ड वालमै सुतलीबम विस्फोट गराइयो ।
विस्फोटबाट पर्खालमा सामान्य क्षति भएको र घटनामा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर–५ र ६ को सिमानामा प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट गराइयो ।
पण्डितसँगै रहेका प्रदेश ‘क’का गठबन्धनका उम्मेदवार जीवन आचार्य चढेको गाडीलाई लक्षित गरी सुतलीबम विस्फोट गराइएको हो ।
घरदैलोमा रहेका उनीहरु नहरमा अगाडि बढ्नेक्रममा करिब ८०० मिटरअगाडि बम विस्फोट गराइएको थियो ।
उदयपुरमा पनि बम विस्फोट गराइयो । प्रदेशसभा–१ ‘क’का नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीको त्रियुगा नगरपालिका–७ स्थित घरमा बम विस्फोट गराइएको हो । मानवीय क्षति नभएपनि केही पशु–चौपाया घाइते भएको प्रहरीले जनाएको छ ।
यी त केही प्रतिनिधि घटनामात्र हुन्, जुन दिनहुँजस्तो हुँदै आएको छ । सरकार सुरक्षा सुदृढ बनाएको रट्न छोड्दैन । प्रहरी दोषीसम्म पुगेर कारबाही गराउन आशातितरुपमा सफल भएको देखिन्न ।
चुनावविरोधी पक्ष सरकार वा राजनीतिक दलसँगको आफ्नो रीस निहत्था नागरिकमाथि पोख्दैछ, सार्वजनिक स्थान र सर्वसाधारण आवत–जावत गर्ने स्थानमा बम राखेर ।