‘सन्तपुर एकिकृत नमूना बस्ती’अन्तिम चरणमा,पैसा नपुगेपछि धर्मुसले सहयोग मागे (भिडियो सहित)

‘सन्तपुर एकिकृत नमूना बस्ती’अन्तिम चरणमा,पैसा नपुगेपछि धर्मुसले सहयोग मागे (भिडियो सहित)
समाज

रौतहटको चन्द्रपुर नगरपालिमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘सन्तपुर एकिकृत नमूना बस्ती’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माण सुरु भएको सयौँ दिनमा ४७ परिवारका लागि ४७ वटा दुई तल्ले घर, एक सामुदायिक भवन, प्राथमिक विद्यालय र मन्दिरको निर्माण कार्य पुरा भइसकेको छ भने भ्यू टावरको निर्माण अन्तिम चरणमा पुगेको छ ।
बस्तीमा बसोवास गर्ने मुसहरलाई माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ फाउण्डेशनले काम गरिरहेको छ । पाँच करोड ९५ लाखको लागतमा निर्माण सुरु गरिएको फाउण्डेशनले जानकारी दिएको छ ।
बस्तीमा बसोबास गर्ने मुसहर आकर्षक घरमा बस्ने मौका पाउँदा निकै उत्साहित भएका छन् । दाताहरुको सहयोगमा ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएपनि झण्डै एक करोड रकम तिर्न बाँकी रहेकोमा थप दाताको सहयोगको अपेक्षा उनीहरुले गरेका छन् ।

[youtube https://www.youtube.com/watch?v=ud3rsVHiMus]

सन्तपुर एकिकृत नमूना बस्ती व्यवस्थापन समितिका संयोजक सत्यनारायण माझीले जीवनमा नसोचेको जस्तो घर कलाकारको माध्यमबाट पाउन लाग्दा निकै खुशी लागेको बताउनुभयो ।

बस्ती भित्र ५० वटा संरचना निर्माण गरिएको छ । ४७ जना परिवारलाई छुट्टाछुट्टै दुई तल्ले पक्की घर, तिनीहरुको बालबालिकाहरुलाई अध्ययन गर्न प्राथमिक विद्यालय, समूहमा छलफल गर्न सामुदायिक भवन र एउटा मन्दिरको निर्माण गरिनुका साथै बस्तीबाट बाहिरको अवस्था अवलोकन गर्न एउटा भ्यू टावरको निर्माण गरिएको छ ।

बस्तीमा निर्माण भएको घरलाई रातो रंगबाट रंगरोगन गरिँदा टाढैबाट बस्ती आकर्षक एवं मनमोहक देखिएको छ । धुर्मुष–सुन्तली फाउण्डेशनको अभियान अन्तर्गत सन्तपुर एकिकृत नमूना बस्ती कार्यक्रमको यो चौथो प्रोजेक्ट हो ।

[youtube https://www.youtube.com/watch?v=ud3rsVHiMus]

Post Comment