प्रहरीको सेटिङमा पोखरामा रातभर डिस्को खोल्न छुट दिइएको छ । वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँगको सेटिङमा पोखरामा सञ्चालित भुडो डिस्को बिहान ६ बजेसम्म चल्दै आएको छ । जबकि राति २ बजेसम्म मात्र डिस्को संचालन अनुमति दिइएको छ ।
डिस्कोका सञ्चालक समीर गुरुङले प्रहरीलाई मासिकरूपमा घुुस दिँदै अनुमति समयभन्दा ४ घण्टा बढी सञ्चालन गर्दैआएका छन् । प्रदेशसभामा मनाङबाट निर्वाचित भई अदालतले दोषी ठह¥याएपछि हाल फरार अभियुक्तका रूपमा रहेका दीपक मनाङ्गे भनिने राजीव गुरुङको संरक्षणमा काठमाडौँको ठमेलमा गुण्डागर्दी पेशा गर्दै आएका समीर गुरुङले अहिले पोखराको ग्राण्ड होटलमा भुँडो डिस्को सञ्चालन गर्दै आएका छन् ।
सो होटलमा किशोर सिलवालले क्यासिनो सञ्चालन गरेका थिए तर क्यासिनो सञ्चालन नभएपछि सोही ठाउँमा अहिले उक्त डिस्को सञ्चालन हुँदै आएको छ । रात्रिकालीन व्यवसाय गर्ने व्यापारीहरूको संस्था रात्रिक्लबको अध्यक्षसमेत रहेका गुरुङले वडा प्रहरी कार्यालय, बैदामका प्रमुख बसन्त शर्मालाई मासिक ५० हजार रूपैयाँ दिने गरेको समेत स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख अशोक सिंहलाई पनि घुस दिएर मिलाउँदै आएका छन् । बसन्त शर्मा पूर्वगृहमन्त्री जनार्दन शर्माका भतिजा हुन् । उनलाई शर्माले गृहमन्त्री हुनासाथ बैदाममा सरुवा गरेकोमा विवाद भएको थियो ।
केही दिनअघिमात्रै जिल्ला प्रहरीका नाममा समीर गुरुङले १० लाख रूपैयाँ दिएर आफ्नो डिस्कोको गैरकानुनी कार्यलाई संरक्षित गर्दै आएको स्रोतले बताएको छ । १२–१ बजेदेखि सुरु हुने यो डिस्को बिहान ६ बजेसम्म नियमितरूपमा चल्दै आएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका एक अधिकृतले सो डिस्कोले बिहान २ बजेसम्मको लागि मात्रै स्वीकृति पाएको पुष्टि गरे ।
जिल्ला र बैदाम प्रहरीलाई घुस दिएर सञ्चालक समीर गुरुङले ४ घण्टा बढी डिस्को सञ्चालन गर्दै आइरहेका छन् । जबकि महेन्द्र भोटेले सञ्चालन गरेको ओजन डिस्को राति २ बजे नै बन्द हुँदै आएको छ ।नयाँ पेजबाट