श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो।
उनले प्रेमीहरुसँग होटलमा जाने महिलालाई पिछा गर्ने र परिवारमा पोल खोलिदिने भन्दै ब्लाकमेलिङ गरेर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ। दुई जना महिलाले उनीविरुद्ध जाहेरी दिएका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई पक्राउ गरी मुद्दा अघि बढाएको छ।
नुवाकोट स्थायी घर भएका नेपाली सेनाका पूर्व अमल्दार आचार्य काठमाडौंस्थित अमेरिकी दूतावासको सेक्युरिटीमा कार्यरत कर्मचारी हुन्।
प्रहरीका अनुसार नयाँ बसपार्कमा जाने महिलाको उनले सूचना संकलन गर्थे। महिलाहरु गेस्ट हाउसबाट निस्किएपछि उनीहरुलाई पिछा गर्दै आफूलाई सबै थाहा भएको र परिवारमा भनिदिने भन्दै ब्लाकमेलिङ गर्थे। आफूसँग पनि सम्बन्ध राखे कसैलाई नभन्ने भन्दै उनले गेस्ट हाउसमा लिएर गई जर्बजस्ती सम्बन्ध राख्दै आएको खुलेको छ।
कतिपय महिलालाई उनले प्रहरीमा खबर गरिदिने भनेर समेत बलात्कार गरेका थिए।
उनीबाट पीडित भएकी एक महिलाले उजुरी गरेपछि घटना बाहिर आएको हो। आचार्यलाई जबर्जस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए।
श्रीमान् विदेश भएका महिलाबारे एक व्यक्तिले आफूलाई सूचना दिने गरेको उनले बयानमा बताएका थिए। तर, उनले नाम लिएका व्यक्ति फेला परेका छैनन्।