दुर्घटनाको सम्बन्ध नै दर्दसंग जोडिएको हुन्छ । यही दर्दले सोमबार आम नेपालीलाई भावुक बनायो । विमान दुर्घटनाको इतिहास नेपालमा लामो नै छ तर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको दुर्घटनाको धेरै नेपाली प्रत्यक्षदर्शी बने । जस्मा १३ जना नेपाली नागरिक पनि विभत्स दुर्घटनासंग सधैका लागि हार्न पुगे ।
नेपालले २०४६ साल पछि उदार आकाश नीति अवलम्बन गरेपछि निजी क्षेत्रबाट पनि धेरै विमानहरु नेपाली आकाशमा थपिए । र , घरेलु उडानमा पनि त्यहीं अनुपातमा दुर्घटनाका घटनाहरु बढन पुगे । अन्तर्राष्ट्रिय उडानहरुको दुर्घटनाको फेहरिस्त पनि नेपाली आकाशमा धेरै नै छन् । चाहे थाई एयरको र पाकिस्तानी इन्टरनेशनल एयरलाइन्सको विभत्स दुर्घटना हुन् । ती सबै आम नेपाली नागरिकको दृश्यमा परेनन् । तर सोमबार युएस बंगलाको विमान दुर्घटना हुँदाको परिदृश्य पृथक रहयो ।
बिभिन्न टेलिभिजन च्यानलहरुमार्फत दुर्घटनादेखि आगलागी भएको विमान र उद्दार एवं उपचारका दृश्यहरु प्रत्यक्ष हेरे । दुर्घटना जो देख्नु नपरोस र देखाउनु पनि नपरोस । तर समाचार सकारात्मक र राम्रा मात्र कहाँ हुन्छन् र ? यस्तै भइदियो । टेलिभिजन च्यानलहरु अघि थुप्रिएको जमात जो मुटु मिचेर दृश्यहरु हेर्दै भावुक बनिरहेका थिए । विमानमा सवार यात्रुहरुको सकुशलताको कामना गरिरहेका थिए । तर दुर्घटनासंग विमानमा सवार धेरैले हारे , धेरैको परिवारमा रुवावासी मच्चियो । मन आशुँ बनेर पग्लिएर वगिरहयो ।