नुवाकोटका राजिव सिटौला उमेरले जम्मा ३० वर्षमा लागे पनि कामको हिसाबले उनी धेरै अगाडी पुगीसकेका छन् । ७ वर्ष अगाडि अमेरिकी सेनामा कार्यरत राजिव अमेरिकी सेनाको ‘वारेण्ट अफिसर वान’ पदमा हालैमात्र पदोनन्ती भएका छन् ।
अमेरिकी सेनाको बिमान नेपाली नागरिकले उडाएको कुनै समय कल्पना मात्रै हुन्थ्यो । तर अहिले नेपाली नागरिकहरु पनि एकपछि अर्को गर्दै विभिन्न प्रतिशिष्ठित पेशामा पनि जम्न थालेका छन् । जसको पछिल्लो उदाहरण हुन् नुवाकोटका राजिव ।
अमेरिकी सेनामा पहिलो नेपाली वायुयान चालकका रुपमा रहेका राजिव अमेरिकी सेनामै रहेर पाईलट कोर्स सम्पन्न गरी अमेरिकी आकाश र अमेरिकी सेना रहेका बिदेश स्थित क्याम्पहरुमा बिमान उडाउँदै एक कुशल विमान चालकको छवी समेत बनाईरहेका छन् ।
राजिबले अमेरिकी सेनामा प्राप्त गरेको सफलता धेरै युवाहरुका लागि मार्गदर्शक समेत बन्न सक्छ । नुवाकोटको पंचकन्या गाउँपालिका वडा नं ६ को भद्रुटारमा पिता रामराज सिटौला र माता निर्मला सिटौलाको पहिलो सन्तानको रुपमा जन्मिँदा नै राजिव भिन्न सोच र फरक विचार राख्थे । उनको त्यही दुरदर्शीताका कारण राजिव आज अमेरिकी आकाश र अमेरिकी सेनाका काममा अब्बल देखिएका छन् ।