भर्जिनियाको फेयरफ्याक्समा नेपाली विद्यार्थीले टेक्ट अफ नेपाल नामक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।
भर्जिनियाको जर्ज मेसन विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संस्था नेपाली विद्यार्थी संघ (एनएसए)ले हरेक वर्ष झैँ यस वर्ष पनि उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । विश्वविद्यायलको हलमा आयोजना भएको उक्त कार्यक्रममा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।
विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले हरेक वर्ष नेपाली संस्कृति झल्कने विषय राखि नेपाली गीत, नृत्य, फेशन सो लगायतका कार्यक्रम प्रस्तुत गर्ने गर्दछन् । यस वर्षको विषय थीम ‘उत्सव’ रहेको थियो ।
सोही विश्वविद्यालयका पूर्वविद्यार्थी स्व।शुदर्शन सिग्देलको आत्माको चीर शान्तिको कामना गर्दै मौन धारण पश्चातपछि नेपाली तथा अमेरिकाको राष्ट्रिय गानबाट सांस्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो ।
नेपाली विद्यार्थी संघका सल्लाहकार तथा सोही विश्वविद्यालयका प्राध्यापक रमेश पन्तले अमेरिकामा नै जन्मेका वा सानै उमेरमा अमेरिका आएका नेपाली विद्यार्थीलाई नेपाली भाषा पनि सिक्न अभिप्रेरित गरिरहेको बताए ।
नेपालका विविध जातीहरुले लगाउने भेषभुषालाई ‘फेसन सो’का रुपमा प्रस्तुत गर्दै सोही अवसरमा नेपालमा मनाइने उत्सव, चाडपर्वहरू कसरी मनाइन्छ भन्ने बारे समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका अन्य आकर्षणका रुपमा नेपाली गीत तथा नृत्यहरू प्रस्तुत गरिएका थियो । नेपाली भेषभुषामा सजिएर नेपाली गीत र शैलीका नृत्यहरू समेत प्रस्तुत गरिएका थिए ।
सोही विश्वविद्यालयले हरेक वर्ष आयोजना गर्ने अन्तराष्ट्रिय नृत्य प्रतियोगितामा गत वर्ष नेपाली विद्यार्थीहरू नै सर्वोत्कृष्ट भएका थिए ।
यस वर्ष हुने प्रतियोगितामा पनि उत्कृष्ट बन्ने अठोटका साथ तयारी भइरहेका संस्थाकी अध्यक्ष प्रकृति सिटौलाले जानकारी दिइन् ।
विशुद्ध नेपाली संस्कृति र भेषभुषालाई आकर्षक ढंगबाट प्रस्तुत गरिएको उक्त कार्यक्रम तोकिएको समय भन्दा अगाडि नै सम्पन्न भएको थियो ।