‘सिन्डिकेट’ खारेज गरेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित,देशैभर गाडी नचलाउने घोषणा

‘सिन्डिकेट’ खारेज गरेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित,देशैभर गाडी नचलाउने घोषणा
समाज

सरकारले ‘सिन्डिकेट’ खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारले यातायात व्यवसायीहरुको संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता रोक्ने निर्णय गरेपछि उनीहरुले बुधबार राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी विरोध गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यातायात व्यवसायीको संघ–संस्थालाई जिप्रकामा नवीकरण नगर्ने र दर्ता रोक्ने निर्णय गरेको थियो ।

व्यवसायीहरुले यातायात क्षेत्रमा आफूहरुले सिन्डिकेट प्रणाली नलगाएको भन्दै सरकारले मध्यम वर्गीय जनताको लगानीलाई खोस्न खोजेको आरोप लगाए ।

व्यवसायीहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे देशभरि नै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

बिहीबार (भोलि)देखि संयुक्तरुपमा नै आन्दोलनको तयारी गरेका व्यवसायीहरुले वैशाख २१ गतेदेखि भने गाडीहरु नचलाउने र मागको सम्बोधन नभए वैशाख २७ गतेदेखि देशभर नै सार्वजनिक सवारी–साधन नचलाउनेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Post Comment