धनुषा जिल्लामा गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि १८ वर्षीया अञ्जली दासको हत्या भएको छ ।
गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको हो । मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन् ।
अञ्जलीको विवाह ११ महिनाअघि सबैला नगरपालिका १ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दीपेन्द्र दाससँग भएको थियो । सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करिब चार लाख खर्चेका थिए ।
विदेशबाट कमाएर आएका ज्वाइलाई बिहेमा दाइजोस्वरुप मोटरसाइकल, गरगहना र केही रकम पनि दिइयो तर, बिहे भएको एक वर्ष नबित्दै अञ्जलीको हत्या भएको कुरा अभिभावकको लागि पत्याउनै नसक्ने घटना भएको छ ।
जिल्ला अदालत धनुषाको प्रांगणमा आइतबार अधिवक्तासँग जाहेरी लेखाउन आएका शिवनाथ र मृतककी आमा ज्ञानी बोल्नै नसक्ने अवस्थामा थिइन् ।
एक महिनाअघि मात्रै अञ्जलीलाई रक्सीको झोकमा श्रीमानले अत्याधिक कुटपिट गरेका थिए । दिदीको आँखा सुन्निएको थियो, मुखमा डाँम थियो उनी एक महिनादेखि माइतीमै बस्दै आएको भाइ प्रवीण दासले बताए । वैशाख ६ गते दीपेन्द्र ससुराली आएर श्रीमतीलाई घर लाने भन्दै जिद्दी गरे ।