प्रदेश नम्बर २ का सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न जनकपुर भ्रमणका अबसरमा प्रदेश संसदमा सम्वोधनको व्यबस्था गर्न सरकारसंग माग गरेका छन् ।
बिहीवार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले १० मिनेटका लागि भएपनि मोदीलाई प्रदेश संसदमा सम्वोधनको लागि व्यबस्था गर्न सरकारसंग माग गरेका हुन् ।
संघीय समाजवादी फोरमका सांसद कौशल कुमार यादवले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा भ्रमण गर्नु प्रदेश नम्बर दुईको सौभाग्य रहेको भन्दै मोदीलाई संसदमा सम्वोधनको वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले मोदीको भ्रमणका समयमा प्रदेश २ ले के माग्ने भन्ने बिषयमा साझा धारणा बनाउनु पर्ने बताए । उनले पनि मोदीलाई प्रदेश सभामा सम्वोधनको लागि आमन्त्रण गर्नुपर्ने बताए ।
सांसद जगत तारेन देवी साहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा सांसदहरुलाई भन्सार छूटमा गाडिको माग गर्नुपर्ने बताइन् । उनले पनि मोदीलाई जनकपुरमा भव्य स्वागत गर्नुपर्ने बताइन् ।
भारतीय प्रधानमन्त्री मोदीले २८ वैशाखदेखि नेपालको दुई दिने भ्रमण गर्दैछन् । भ्रमणका दौरान मोदी जनकपुर आउने कार्यक्रम छ । पहिलो भ्रमणको समयमा मोदीले संसदलाई सम्वोधन गरेका थिए ।