भारतीय टोलीको आरोप : नेपाली पक्षबाटै सीमा विवाद

भारतीय टोलीको आरोप : नेपाली पक्षबाटै सीमा विवाद
समाज

बेलाबखत कैलाली कञ्चनपुर जिल्लाको भारतसंग जोडिएका सीमा नाकामा हुने विवादलाई लक्षित गरी बिहीवार धनगढीमा दुई देशीय फिल्ड सर्वे बैठक भएको छ ।

नेपालको तर्फबाट कैलाली, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखहरु, नापी, वन, मालपोत कार्यालयका प्रमुख र भारतको तर्फबाट खिरी र पिलिभिट जिल्लाका डिस्ट्रिक मेजिष्ट्रेड (डिएम), नापी टोली, सुरक्षा निकायका प्रमुखको संयुक्त बैठक भएको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सीमा स्तम्भ निर्माणको अवस्था र हुने विवादलाई समाधान गर्न गहन छलफल जानकारी गराए । निर्माण तथा मर्मत सम्भार हुन बाँकी सीमा पिलर पनि चाँडै निर्माण गरिने पनि उनको भनाई थियो ।

त्यस्तै, कैलालीको फूलवारी, कञ्चनपुरको पुनर्वासलगायत विवादित क्षेत्रमा सीमा स्तम्भ निर्माणमा किन ढिलाई भयो भन्ने पत्रकारको जिज्ञासामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले चरणबद्ध रुपमा निर्माण कार्य भैरहेको जिकिर गरे । कैलालीको पूर्वी क्षेत्रबाट निर्माण थालेर हालसम्म जारी रहेको बताउँदै उनले क्रमिक रुपमा विवादित क्षेत्रमा पनि दुई देशीय समन्वयमा चाँडै पिलर निर्माण गरिने उल्लेख गरे ।

तर त्यसै बैठकमा भारतीय पक्षबाट सहभागी नेपाल–भारत सीमा सर्वे टोली सदस्य आरसी भट्टले नेपाली पक्षकै अवरोधले गर्दा सीमा स्तम्भ निर्माणमा ढिलाई भएको आरोप लगाए । अरु क्षेत्रमा निर्माण भए पनि विवाद क्षेत्रमा नेपाली पक्षबाट हुने अवरोधका कारण निर्माणमा ढिलाई भएको टोली सदस्य भट्टको भनाई थियो ।

‘पिलर निर्माण सुगौली सन्धी अनुसार नै हुन्छ, चाहे सय सालपछि पिलर लगाए पनि त्यहि ठाउँमा नै लाग्नेछ, त्यसको एक्स वाई जेड दुबै पक्षबाट फिक्स छ’, उनले भने–‘सीमामा केहि विवाद छैन, विवाद केवल जनताबाट भएको छ, नेपाली जनताले गर्दा भएको छ, उहाँहरु पिलर लगाउँन दिएका छैनन् । उहाँहरुलाई सीमाबारे जागरुक गराउन आवश्यक छ ।’

त्यस्तै, उक्त पत्रकार सम्मेलनमा भारत उत्तर प्रदेशको खिरी जिल्लाका डिएम शैलेन्द्र कुमार सिंहले सीमामा विवादै नभएको दावी गरे । सीमा क्षेत्रमा हुने केही आपसी असमझदारीलाई दुई देशीय समन्वयमा सुल्झाउँदै आएको डिएम सिंहको भनाई थियो ।

२९० सीमा स्तम्भ निर्माण हुन बाँकी

कैलाली कञ्चनपुर जिल्लास्थित अझै दुई सय ९० सीमा स्तम्भ निर्माण हुन बाँकी रहेको छ ।

नेपालको तर्फबाट बैठकमा सहभागी नेपाल भारत सीमा सर्वे टोली सदस्य सुदर्शन सिंह धामीका अनुसार कैलाली कञ्चनपुरमा अझै दुई सय ९० सीमा स्तम्भ निर्माण हुन बाँकी रहेको जानकारी दिए । कैलालीमा पर्ने दुई सय ८२ सीमा स्तम्भमध्ये ७३ वटा र कञ्चनपुरमा पर्ने तीन सय ७७ पिलर मध्ये दुई सय १७ वटा अझै निर्माण गर्नुपर्ने रहेको टोली सदस्य धामीले बताए ।

 

Post Comment