नेपाल भारतसँगको सीमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १ सय ३ साना पिलरमध्ये १६ वटा गायब भएको पाइएको छ ।
सीमामा १ सय ३ साना पिलरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिलर गाडिएको स्थानसमेत फेला परेको छैन ।
१२ पिलर राखिएको ठाउँ फेला परे पनि सीमास्तम्भ भने नभेटिएको र भेटिएका सबै ८७ पिलर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।
उनका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोली गएर स्थलगत अवलोकन गर्दा पिलरको अवस्था यस्तो रहेको पाइएको हो ।
जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने ९ जंगे पिलर भने भेटिएका छन् ।
तीमध्ये दुई पिलर जीर्ण छन् एउटा जंगे पिलर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र सर्भे गरि फर्किएका प्रहरी हवलदार काजीमान लिम्बूले बताए ।
प्रहरीको टोलीले सीमास्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थालगायत अध्ययन गरको हो । अध्ययनले तत्काल सीमास्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखिएको छ ।
तीन प्रकारका पिलरमध्ये जंगे र मझौलाभन्दा साना पिलरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था रहेको छ ।