बालगृहमा राखेर क्रिश्चियन धर्म पढाइयो , सबैका सिरानीमुनी बाइबल

बालगृहमा राखेर क्रिश्चियन धर्म पढाइयो , सबैका सिरानीमुनी बाइबल
समाज

नेपालगञ्जका बालगृहरुमा उच्च स्तरीय सरकारी अधिकारीहरु अनुगमन गर्न गए। अनुगमनका क्रममा एपोस्टल र माया सदनमा पुग्दा सरकारी अधिकारीहरु छक्क परे।

माया सदनमा ६० जना बालबालिका छन्। एपोस्टलमा २८ जना। सरकारी अधिकारीहरु अनुगमनका क्रममा बालबालिकाको ओछ्यानमा पुगे। यसो सिरानी पल्टाएर हेरेको त बाइबल भेटियो। सबै बालबालिकाको सिरानीमुनि बाइबल राखिएको थियो।

सबैको ओछ्यानमा बाइबल देखेपछि सरकारी अधिकारीहरु आक्रोशित भए। जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, महिला विकास अधिकृत शोभा शाह, प्रशसकीय अधिकृत खगेन्द्र पौडेल, बाल अधिकार स्रोत व्यक्ति भीम अवस्थी अनुगमन गर्न पुगेका थिए।

धर्म निरपेक्ष राष्ट्र भएपनि नेपालमा धर्म परिवर्तन गराउन पाइँदैन। धर्म परिवर्तन गराउनेलाई कारबाहीको व्यवस्था गरिएको छ। अभिभावक नभएपछि बाध्यताले बालगृहमा पुगेका बालबालिकालाई बालगृह सञ्चालकले अनिवार्य रुपमा बाइबल पढ्न लगाउने गरेको पाइयो। ‘बिहान उठ्ने बित्तिकै बाइबल पढेर नै अरु कामको शुरुवात हुन्छ,’ अनुगमन टोलीलाई बालबालिकाले सुनाए।

बाँकेमा पाँच वटा बालगृह छन्। त्यसमध्ये तीन वटा क्रिस्चियन धर्मावलम्बीहरुले सञ्चालन गरेका हुन्। भर्खरै दुई वटा बन्दको चरणमा पुगेका छन्। एपोस्टलले २८ जना बालबालिकालाई आ–आफ्नो मान्छेको घरमा पठाउने काम गरिरहेको बाल अधिकार स्रोत व्यक्ति भीम अवस्थीले जानकारी दिए। तनुप्रिय बाल गृह बन्द भएको छ।

बाँकेका बालगृहमा १ सय ६६ जना बालबालिका छन्। समाज सुधार विकास प्रवद्र्धन केन्द्र र एसओएस सञ्चालनमा छन्।

बालगृहका नाममा धर्म परिवर्तन गराउने ‘खेलो’ भएको पाइएपछि जिल्ला बाल कल्याण समितिले बालगृहलाई १५ दिने अल्टिमेटम पत्र पठाएको छ। धर्म परिवर्तन गराउने गतिविधि बन्द गर्न समितिले बालगृहलाई हुलाकमार्फत पत्र पठाएको हो। बालगृह अनुगमन गरेको तीन/चार दिन मात्रै भएको र त्यसपछि हुलाकबाट पत्र पठाइएकाले अझै नपुगेको हुन नसक्ने बाल अधिकार स्रोत व्यक्ति अवस्थीले बताए। ‘पत्र पठाएका छौं । धर्म परिवर्तन गराउने गतिविधि बन्द नगरे कारबाही गर्छौ,’ अवस्थीले भने।

बालगृहका लागि सिफारिस गराइदिन दैनिक दुई/तीन जना जिल्ल कल्याण समितिमा आउने गर्दछन्। बाल कल्याण समितिले मापदण्ड पुगेकालाई बालगृहमा पठाउने गर्दछ। बाँकेमा पठाउने भनेको तिनै बालगृह हुन्। राज्यले बालबालिकलाई बालगृहमा पठाउने र बालगृहले चाहि धर्म परिवर्तन गराउने खेलले राज्यकै निकाय बालबालिकालाई धर्म परिवर्तन गराउने मतियार बनेको देखिन्छ ।

 

Post Comment