क्रिस्चियनहरूको अनलाइन पोर्टल क्रिस्चियनन्युज डट्नेटमा मंगलवार छापिएको खबरमा नेपाली क्रिस्चियनहरू यो महिना चार चर्चमा भएको आगजनी र बम विस्फोटको घटनाबाट त्रसित भएको लेखिएको छ ।
प्रस्तुत छ उक्त रिपोर्टको भावानुवाद :
चर्चहरूमा भएका शृंखलाबद्ध आक्रमणमा अधिकारीहरूले अनुसन्धान गर्न आलटाल गरेको शंका चर्च नेताहरूले गरेका छन् ।
त्यतिखेरै ६ जना क्रिस्चियनहरू धर्मपरिवर्तन गराएको आरोपमा पक्राउ परेका छन् भने हिन्दू अतिवादीहरूले चीन चर्चमा आक्रमण र एउटामा बम विस्फोट गरेको आशंका छ । यी आक्रमणले भवनमा ठूलो क्षति पुगेको भएपनि कुनै हताहती भने गराएको छैन ।
पूर्वी पहाडमा रहेको हेब्रोन चर्च भवनमा वैशाख २६ गते आगो लगाइएको थियो भने डोटीमा रहेको इम्मानुएल चर्चमा वैशाख २७ गते आगजनी गरिएको थियो । कञ्चनपुर र धनगढीमा बम विस्फोट गराइएको थियो ।
सरकारी अधिकारी तथा प्रहरीले आरोपितहरूका बारेमा औपचारिक बयान जारी गरेका छैनन् यद्यपि प्रहरीले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आक्रमण गराएको बताएको छ । तर नेपालका क्रिस्चियन नेताहरू हिन्दू अतिवादीले अभियानै चलाएर आक्रमण गरेको आशंका गर्छन् ।
प्रहरीले चर्च नेताहरूसँग सहकार्य गरेर उनीहरूको उजुरी लिइरहेको छ तर अधिकारीहरूले कुनै पक्राउ गरेका छैनन्, धार्मिक स्वतन्त्रता मञ्च नेपालका अध्यक्ष टंक सुवेदी बताउँछन् । अधिकारीहरूले प्रहरीलाई कारवाही बढाउन ढिलासुस्ती गर्नू भनी आदेश दिएको हुनसक्ने उनी शंका गर्छन् ।
‘उनीहरूले यसमा कसैलाई पक्राउ गरेका छैनन् किनकि यस्ता मुद्दामा कुनै पक्राउ नगर्नू भनी उनीहरूलाई प्रस्टसँग बताइएको हुनसक्छ,’ सुवेदीले भने ।
यतिखेरै क्रिस्चियनहरूविरुद्ध फेसबूक र ट्विटरमा अभियान चलेको देखिन्छ । ‘इसाईकरण के विरुद्ध हिन्दू जागरण अभियान’ जस्ता ह्याशट्याग सामाजिक सञ्जालहरूमा चलाइएका छन् जसले खुला रूपमा हत्या र आक्रमण गर्न भड्काउँछन्, पास्टर बीपी खनाल भन्छन् ।
‘यी ह्याशट्यागले नेपालीहरूमाझ ठूलो मात्रामा समर्थन र प्रशंसा पाएका छन्,’ उनी भन्छन् । ‘नेपाली चर्चहरूमा यस्ता आक्रमण अनायास भएका हैनन्, यी त क्रिस्चियन समुदायविरुद्धको योजनाबद्ध र सुनियोजित आक्रमण हुन् अनि सरकारले यसबारेमा केही पनि गरिरहेको छैन ।’
क्रिस्चियनहरूविरुद्ध आक्रमणको सिलसिलामा भएको वृद्धि भारतमा क्रिस्चियनविरोधी लहरबाट प्रभावित भएको क्रिस्चियन नेताहरूको धारणा छ ।
यसैबीच धर्मपरिवर्तन गराउँदै हिँडेका ६ जना क्रिस्चियनहरूलाई तेह्रथुममा पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।
वैशाख २६ गते तीमध्ये दुईजनालाई प्रभुको भक्तिगान गर्दै अनि क्राइस्ट नै सच्चा ईश्वरपुत्र हुन् भन्दै सडकमा हिँडिरहेको बेलामा पक्राउ गरिएको थियो भने चारजनालाई घरबाट पक्राउ गरिएको थियो, सुवेदी भन्छन् । उनीहरू जेठ ३
गते जिल्ला अदालतसमक्ष प्रस्तुत गरिए र उनीहरूलाई पुर्पक्षका लागि सात दिनसम्म म्याद थप गरेर हिरासत पठाइयो ।
नेपालको नयाँ संविधानअनुसार धर्मपरिवर्तन गराउन प्रतिबन्ध लगाइएको छ । नयाँ संविधानले नेपाललाई धर्मनिरपेक्ष र लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित गरेपनि यसले गर्ने धर्मनिरपेक्षताको परिभाषाले हिन्दू धर्मलाई संरक्षण गर्छ र अन्यलाई आफ्नो धर्मभित्र रहेर मात्र पूजाअर्चना गर्न दिन्छ । धारा २६ ले कसैलाई पनि धर्मपरिवर्तन गर्न वा अरूको धर्मलाई खल्बल्याउन निषेध गरेको छ ।
नेपालमा धर्मपरिवर्तन पहिलेदेखि नै अवैध भएपनि क्रिस्चियन अभियन्ताहरूले हालैका समयमा क्रिस्चियनहरूविरुद्धको गतिविधि बढेको अनुभव गरेका छन् । नयाँ संविधानले हिन्दू धर्मलाई चाहिनेजति महत्त्व नदिएको भनी रिसाएका हिन्दूहरूलाई खुशी बनाउन अधिकारीहरूले क्रिस्चियनविरुद्धको आक्रमणलाई बेवास्ता गरेका हुनसक्ने उनीहरू बताउँछन् ।
यसैबीच नेपालका दुई प्रमुख दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले धर्मनिरपेक्षताको प्रत्याभूति गराउने अपेक्षा युरोपेली संघले राखेको विश्लेषण वरिष्ठ पत्रकार युवराज घिमिरेले भारतीय पत्रिका दी इन्डियन एक्सप्रेसमा गरेका छन् । युरोपेली संघले नेपालमा धर्मपरिवर्तनको प्रत्याभूतिसहितको धर्मनिरपेक्षतालाई एजेन्डा बनाइरहेको सन्दर्भमा दुई पार्टीको एकीकरणबाट संविधान समेत संशोधन गरी धर्मपरिवर्तनलाई वैध बनाउने प्रयास हुनसक्ने आशय घिमिरेको विश्लेषणमा पाइन्छ ।
युरोपेली संघले द्वन्द्वकालमा भएका ज्यादतीको छानबिन तथा अभियोजनका लागि संक्रमणकालीन न्यायलाई निकै प्रोत्साहन गरेको तर अब द्वन्द्वको एक पक्ष रहेको माओवादीकै विलय भइसकेको अवस्थामा संक्रमणकालीन न्यायको सम्भावित मृत्यु अनि सत्यनिरूपण तथा मेलमिलाप प्रक्रिया निष्प्रभावी भएको देखिन्छ । यसले युरोपेली संघलाई खुशी नतुल्याएको भएपनि नेपाल धर्मनिरपेक्ष गणतन्त्र रहिरहेको चाहिँ उसका लागि ठूलो राहतको विषय भएको युवराज घिमिरेको तर्क छ ।