प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । साथै कलंकी–थानकोट र चाबहिल–बौद्ध–जोरपाटीको दुरावस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका छन् । उनले कलंकी–थानकोट र चाबहिल–बौद्ध–जोरपाटी सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न पनि निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडक र उपत्यकाका सडकका खाल्डाखुल्डीको व्यवस्थापन ५० दिनभित्र महसुस हुने गरी सुधार आउने बताएका छन् ।