डा. केसीका समर्थकबाट मुख्यमन्त्रीलाई दुर्व्यवहार

डा. केसीका समर्थकबाट मुख्यमन्त्रीलाई दुर्व्यवहार
समाज

जुम्लामा अनसन बसिरहेका प्राध्यापक डा. गोविन्द केसीलाई सरकारले उपचारका लागि काठमाडौँ ल्याउन खोज्दा अवरोध भएपछि गोली चलेको छ ।

प्रहरीको गोली लागेर प्रहरी नै घाइते भएका छन् । छातीमा गोली लागेका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै उपचार भइरहेको छ । अवरोध सिर्जना भएपछि प्रहरीले लाठी चार्ज गरेको थियो । साथै अश्रुग्याँस र एक राउन्ड गोली पनि प्रहार भएको थियो ।

डा. केसीका समर्थकहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अपमान गर्दै दुर्व्यवहार गरेका छन् । केसीको अवस्था बुझ्न कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसँगै अनसनस्थल पुगेका शाहीलाई डाक्टर केसीका समर्थकहरुले दुर्व्यवहार गरेका हुन् ।

उनीहरुले शाही र भण्डारीलाई केसीसँग भेट्न नदिई फर्काएका थिए । मुख्यमन्त्री शाहीको टोली फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेको हो ।

केसीपक्षले अवरोध गरेपछि मुख्यमन्त्री शाही र कानुनमन्त्री भण्डारीले त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर फर्किएको बताइएको छ ।
माथिल्लो निकायको निर्देशनमै गोली चलाएको हो वा भुलबश गोली चलेको खुल्न सकेको छैन । अहिले जुम्ला तनावग्रस्त छ ।

Post Comment