ग्रामिण र अशिक्षित भेगका नागरिकको मिर्गौला निकालेर तस्करी गर्ने गिरोहका थप ५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटको पञ्चकन्या–४ का ४१ वर्षीये दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर–४ का ३५ वर्षीय बिक्रम पहरी, मकवानपुर बकैया–५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको बयरबनका ३४ वर्षीय दीपक लिम्बु र रसुवाको उत्तरगया–३ का २८ वर्षीय विशाल नेपालीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
प्रहरीको मेडिल रेस्पोन्स टिमले सर्च अनुसन्धान चलाएर गिरोहका ५ सदस्य पक्राउ गर्न सफल भएको हो । प्रहरी टोलीमा ७ जना खटाइएको थियो । चितवन प्रहरीका डिएसपी प्रभु ढकालका अनुसार दुई पटक गरी ५ जनालाई पक्राउ गरिएको थियो । पहरी, तामाङ र लिम्बुलाई दर्जीलाई १ साउन र नेपालीलाई ४ साउनमा पक्राउ गरिएको थियो । दर्जीलाई काठमाडौं, नेपालीलाई रसुवा र अन्यलाई चितवनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तस्करहरूले हात पारेको मिर्गौला भारतमा लगी बेचिसकेको पनि अनुसन्धानमा खुलेको छ । एक मिर्गौला तस्करीमा ५० हजारदेखि एक लाखसम्म कमिशन पाउने गरेको अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ ।