घरको कोठा-कोठामा पसेर क्रिश्चियन धर्म प्रचार

घरको कोठा-कोठामा पसेर क्रिश्चियन धर्म प्रचार
समाज

गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन्। धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन्। ‘बिहान झिस्मिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन्। एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन्। अर्कोको नाम बिर्सिएँ। उनीहरु कोठामा आएर एकघण्टासम्म क्रिस्चियन धर्मको बयान गरी हाम्रो धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर गए।’

प्रत्येक शनिबार उनीहरुले आफ्नो चर्चमा निम्ता दिएर गएको उनले बताए। भूकम्पपछि गोरखामा क्रिस्चियन धर्म प्रचारले तीव्रता पाएको छ। गाउँमा पनि ‘सच्याइ’, ‘संगति’जस्ता अभियान चलाएर क्रिस्चियन धर्म प्रचार गर्ने क्रम बढेको स्थानीयको भनाइ छ।
विशेष गरी आर्थिक रुपमा विपन्न बस्तीमा सघन रुपमा धर्म प्रचार हुने गरेको पाइएको छ। ‘शान्तिको समाचार, सुसमाचार भन्दै पर्चा बाँड्दै आउँछन्’, मकैसिङका बिल चेपाङले भने, ‘हाम्रो धर्ममा आउनुस्, बिरामी भयो भने हस्पिटल पनि जानु पर्दैन, धार्मी झाँक्री लगाउनु पर्दैन भनेपछि गाउँका धेरै गएका छन्।’ गाउँमा अनेक प्रलोभन देखाएर धर्म प्रचार गर्ने काम भइरहेको उनको भनाइ छ।

नयाँ संविधानमा नेपाललाई धर्म निरपेक्ष मुलुक भनिए पनि धर्म प्रचार निषेधित छ। तर गोरखामा सदरमुकामलगायत अन्य गाउँसहरमा धर्म प्रचारले तीव्रता पाएको छ। यसअघि विशेषगरी दलित तथा पिछडिएका समुदायमा धर्मप्रचार अभियान बढी सञ्चालन हुने गरेको थियो। भूकम्पपछि सदरमुकाममा समेत धर्मप्रचारले तिव्रता पाएको छ।

मानि आएको धर्म मान्न पाउने, भजनकीर्तन गर्न पाउने व्यवस्थालाई संविधानले सुनिश्चित गरे पनि धर्म प्रचार गर्न नपाउने प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए। ‘धर्मप्रचार गरीरहेको बारे सूचना संकलन गरिरहेको छु’, उनले भने, ‘त्यस्ता समूह भेटिए कानुन अनुसार कारबाही हुन्छ।’

 

-अन्नपूर्ण पोष्टमा प्रकाशित 

Post Comment