देउसी–भैलोबाट १ लाख १६ हजार डलर सङ्कलन

देउसी–भैलोबाट १ लाख १६ हजार डलर सङ्कलन
समाज

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) पशुपति बुद्ध मन्दिरले यस वर्षको देउसी–भैलो मार्फत मन्दिर निर्माणका लागि एक लाख १६ हजार अमेरिकी डलर रकम दान उठाउन सफल भएको छ ।

वासिङ्गटन डिसी मेट्रो क्षेत्रका राज्य लगायत अन्य राज्यहरू र विदेशबाट समेत दान सहयोग प्राप्त गर्न सफल यस वर्षको देउसी–भैलो कार्यक्रममा ८ वर्षदेखि ८१ वर्षसम्मका व्यक्तिहरू कार्यक्रममा सहभागी भई मन्दिर निर्माण कार्यमा दान सहयोग गरेको कुरा एनइसीसीले हालै जारी गरेको प्रेस व्यक्तव्यमा जनाएको छ ।

एनइसीसीले जनाए अनुसार सन् २०१४ देखि डिसी महानगर क्षेत्रमा देउसी–भैलो कार्यक्रम शुरु गरेको थियो । ‘देउसी–भैलीमार्फत मन्दिर निर्माणमा सहयोग जुटाउने, नेपाली संस्कृतिलाई समुदायका सदस्यहरुको घर आगनमा पु¥याउने र दोश्रो पुस्ताहरूलाई सकेसम्म सहभागी गराउने साथै यसै मार्फत संस्था र समुदायको सम्वन्ध अझ बलियो बनाउने उद्धेश्य सहित देउसी–भैला सञ्चालन गरिएको हो’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार यस वर्ष एनइसीसीबाट ६ दिन लगाएर डिसी, मेरिलैण्ड र भर्जिनाया राज्यका विभिन्न २२ स्थानमा देउसी–भैली खेलिएको थियो । जसमध्ये अमेरिका स्थित नेपाली राजदूतावासमा राजदूत, दूतावासका कर्मचारीहरु तथा नेपाल सरकारका पूर्व मन्त्री तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय समेतको उपस्थितिमा खेलिएको थियो ।

उक्त स्थानहरूमध्ये सवै भन्दा धेरै ३४,००१ अमेरिकी डलर दान सहयोग एनपीपीएको कार्यक्रममा संकलन गरेको देखिन्छ । एनइसीसीका अनुसार सो सहयोग रकम संकलन हुनमा एनपीपीएका अध्यक्ष राजु जोशी, संस्थापक अध्यक्ष राम मालाकार तथा निवर्तमान अध्यक्ष सरोज प्रजापतिको विशेष भूमिका रहेको थियो । यसै गरि दोश्रो धेरै सहयोग २८,३६३ अमेरिकी डलर नवीन तथा सरला नेपालको घरमा खेलिएको देउसी–भैलीबाट संकलन गर्न सफल भएको जसमा डिसी महानगर क्षेत्र बाहिरबाट समेत दान प्राप्त भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा देउसी–भैलो कार्यक्रममा खट्ने सम्पूर्ण कलाकारहरु, द्यौसी–भैलो कार्यक्रमलाई आफ्नो घरमा सञ्चालन गर्न आमन्त्रण गर्ने दाताहरु, राम्रो व्यवस्थापनमा गरेर कार्यक्रमलाई सफल बनाउने स्वयंसेवक तथा संस्थाका सदस्यहरु, मिडिया तथा सञ्चारकर्मीहरु लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

Post Comment