कञ्चनपुरको भीमदत्तनगर– २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकजना युवा काठमाडौंबाट पक्राउ परेका छन् ।
निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका एक युवक काठमाडौंमा पक्राउ परेका हुन् ।
लागू औषध र दुर्व्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर परिवारका सदस्यले उनी भारत गएको बताएका थिए ।
प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो । मंगलवार साँझ ती युवा काठमाडौंमा फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार २२ वर्षीय ती युवाको डीएनए परीक्षणका लागि प्रहरीले नमूना समेत संकलन गरिसकेको छ ।
‘निर्मलाको हत्या र बलात्कारको घटनामा उनी कुनै न कुनै भूमिकामा संलग्न रहेको आशंका हामीलाई पहिलेदेखि नै थियो,’ प्रहरी स्रोतले भन्यो, ‘परिवारका सदस्यले उनी भारत गएको भनेका थिए । सोहीअनुसार हामीले खोजी पनि गरेका थियौं । मंगलवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।’
प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ ।