अमेरिकामा बस्दै आएका एक नेपाली युवकसँग नक्कली बिहे गरेकी एक महिलालाई अमेरिकी अदालतले ५ वर्षको जेल तथा २ लाख ५० हजार डलर जरीवानाको सजाय सुनाएको छ ।
अमेरिकाको मेन राज्यस्थित ह्याम्पदेन सहरमा बस्दै आएको २८ वर्षीय मरिना मुशेरोलाई मेनस्थित जिल्ला अदालतले आर्थिक प्रलोभनका लागि नक्कली बिहे गरेर अमेरिकी अध्यागमन कानुनको उल्लङ्घन गरेकोमा दोषि ठहर गर्दै सो सजाय सुनाएको हो ।
सरकारी अधिवक्ता हल्से फ्रयांकद्वारा जारी विज्ञप्तिका अनुसार मरिना मुसेरोले आर्थिक रकमका लागि आफू बिहे गर्न तयार भएको जानकारीसहित अनलाइनमा एक विज्ञापन दिएकी थिइन् ।
जस अनुसार, गत जुन १३ गते एक नेपाली युवकले इच्छा देखाएका थिए । विज्ञप्तिमा ती युवकको नाम खुलाइएको छैन् ।
अमेरिकी ग्रिन कार्ड पाउने आशाका साथ नेपाली युवकले गत जुन २५ गते मुसेरोसँग मैन राज्यको ब्रिवर सहरमा बिहे गरेका थिए । मुशेरोसँग अदालतमा बिहे गरे पनि ती युवक भने अर्कै राज्यमा बस्दै आएको प्रहरीले जनाएको छ ।