काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस छ ।
तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान मौसमविदको छ ।
मौसमविद् समिर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् । ‘हिउँद महिना चिसो हुनु प्राकृतिक कारण नै हो’, श्रेष्ठले भने, ‘तर देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार छ ।’
उनले यसबाहेकका सहायक कारणले पनि चिसो बढाइरहेको बताए ।
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।
मौसमविद् श्रेष्ठ तापक्रम कतिसम्म पुग्छ भनेर अनुमान गर्न कठिन भए पनि यस वर्ष माइनसमै जाने सम्भावना कम रहेको बताउँछन् । ‘तापक्रम कतिसम्म पुग्छ भनेर अनुमान गर्न त सकिन्न । तर, विगतको इतिहास र यस वर्षको मौसम नियाल्दा काठमाडौंको तापक्रम माइनसमै झर्ने सम्भावना कम देखिन्छ,’ उनले भने ।