गोविन्द केसी, गगन थापा र रबीन्द्र मिश्रविरुद्ध उत्रिने चेतावनी

गोविन्द केसी, गगन थापा र रबीन्द्र मिश्रविरुद्ध उत्रिने चेतावनी
समाज

सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापाले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक कुनैपनि हालतमा पास गर्न नहुने बताएका छन् ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर थापाले आफूले ५३ दिनसम्म भोक हड्तालमा बस्दासमेत सरकारले वास्ता नगरेको गुनासो पोख्दै चिकित्सा शिक्षा विधेयक तत्काल खारेज गर्न माग गरेका छन् ।

‘श्रीमतीले छोडेर सडकमा आएका डा.गोविन्द केसीले भनेको आधारमा सरकारले कानुन बनाउन पाईदैन, यदि केसी फेरी अनसनमा बसेको खण्डमा म पनि तिनको बिरुद्धमा अनसनमा बस्न तयार छु’, थापाले भने, ‘कसैले पनि डा.केसीलाई हतियार बनाएर राजनीति गर्न पाईदैन, स्वास्थ्य क्षेत्रलाई प्रभावित पार्न खोजे दुर्घटना हुन्छ, कोही केसीलाई हतियार बनाएर देशलाई तहसनहस बनाउन खोज्छन् भने हामी त्यसको बिरुद्धमा उभिनेछौं ।’

थापाले डाक्टर केसीलाई कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रबीन्द्र मिश्रले बोकिरहेको पनि आरोप लगाए । केसीको पक्षमा वकालत गर्दै आएका गगन थापा र रबीन्द्र मिश्रलाई नछोड्ने थापाको चेतावनी छ । डाक्टर केसी कुनै देवता नभएको उनले टिप्पणी गरे ।

उनले भने, ‘डा.केसीलाई गगन थापा र रबीन्द्र मिश्रलगायतले बोकिरहेका छन्, हामी कसैको बिरोधी होईनौं, देशभरि अस्पताल खोल्नुपर्छ, यो वातावरण सरकारले बनाउनुपर्छ, संसदबाट पारित हुन लागेको राष्ट्रघाती चिकित्सा शिक्षा विधेयक खारेजी गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

थापाले नेपालमा एमडी र पीजी क्लासको कोटा तत्काल कम्तिमा १५ सय पुर्‍याउनुपर्ने, तत्काल काठमाडौं उपत्यकाबाहिर देशभरि नै मेडिकल कलेज खोल्ने तथा खोलाउने वातावरण बनाउनुपर्ने, बंगलादेशबाट डाक्टर पढेर घर फर्किने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनामा मृत्यु भएको १८ जना डाक्टरहरुको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नुपर्ने, सरकारी तलब, भत्ता र सेवा/सुविधा लिएर राजनीति गर्नेलाई सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

Post Comment