आफ्नै छोरी बेचेको अभियोगमा नुवाकोटमा बाबुसहित तीन जना पक्राउ परेका छन । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बुबाले नै भारतमा बेचेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बाबुसहित सोही गाउँपालिका, ६ का २२ वर्षिय सुनील तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक (एसपी) कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।
आरोपितले भारतमा लगेर वेश्या काममा लगाउने उद्देश्यले गत पुस २२ गते बालिकालाई काठमाडौं हुँदै भारतको दिल्ली पुर्याीएको प्रहरीले जनाएको छ ।
दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको एसपी मगरले जानकारी दिए । प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
सीमानाकाबाट ३६१ महिलाको उद्धार
यसैबीच मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ ।
सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १२ हजार ४६७ जनासँग सीमानाकामा परामर्श गरिएको जनाएको छ । दुई सय २६ महिलालाई आपतकालीन सुरक्षित आवास सेवा प्रदान गरिएको सो संस्थाका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । “तीस महिलालाई उद्धारपश्चात चितवनस्थित सुरक्षित आवासगृहमा राखिएको छ,” उहाँले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका नौ मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा १४ प्रभावितले ११ विचौलियाविरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला अदालत कपिलवस्तुले सात मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा अभियुक्तलाई जेल सजायको फैसला सुनाएको थियो । केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । आर्थिक अभाव, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोगलगायत कारण महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।