विराटनगरमा पनि निर्मला पन्तकै प्रकृतिको घटना, ११ वर्षीया बालिका मृत भेटिइन्

विराटनगरमा पनि निर्मला पन्तकै प्रकृतिको घटना,  ११ वर्षीया बालिका मृत  भेटिइन्
समाज

 सिंगिया खोलामा ११ वर्षीया एक बालिका मृत अवस्थामा भेटिएकी छन् । शनिबार राति ८ बजेबाट सम्पर्कविहीन भएकी रुपमति दास विराटनगर महानगरपालिका र कटहरट्ठ गाउँपालिकाको सीमामा पर्ने सिंगिया खोलामा मृत भेटिएकी हुन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ८ र कटहरी गाउँपालिका वडा नम्बर २ को सीमानामा रहेको सिंगिया खोलामा निवश्त्र अवस्थामा बालिकालाई हत्या गरेर फालिएको भेटिएको मोरङ प्रहरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए । उनका अनुसार बालिकाको अनुहारमा रगत बगेको छ । प्रहरीले बालिकाकाे बलात्कारपछि हत्याकाे आशंका गरेकाे  छ ।

रुपमति शनिबार राति ८ बजे छिमेकीको घरमा टिभी हेर्न भनेर गएको आमा आमा मन्नीदेवी दासले बताइन् । तर उनी छिमेकीकहाँ टिभी हेर्न पुगिनन् । छिमेकी मोहम्मद नहिमकहाँ बालिकाका बाबु रामप्रसाद दास पहिले नै टिभी हेरिरहेका थिए ।

स्थानीयको सहयोगमा परिवारले रातभर बालिकाको खोजबिन गरेका थिए ।

तर बिहान खोलामा माछा मार्ने क्रममा केही स्थानीयले पानीमा डुबिरहेको अवस्थामा रुपमतिको शव देखेपछि प्रहरी र गाउँलेहरूलाई खबर गरे । बालिकाकी हजुरआमा सीता दासले शव पानीबाट बाहिर निकालेकी थिइन् ।

डिएसपी खड्का नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार उनले लगाएका चप्पल घर नजिकैको चौरमा भेटिएका छन् । उनका कपडा भने भेटिएका छैनन् ।

बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्थिन् । घटना करिब ६ महिनाअगाडि कञ्चानपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रकृतिको देखिन्छ । निर्मलाका हत्यारा अझै पत्ता लागेका छैनन् ।

Post Comment