नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक कञ्चनपुरको पुर्नवासको डोके बजार क्षेत्रमा भारतले डोजरको सहायताले पुनः ट्रेन्च खन्न शुरु गरेको छ ।
भारतको दुधुवा नेशनल पार्क नजिक भारतले ट्रेन्च खन्न शुरु गरेपछि वन्यजन्तुको करिडर अवरुद्ध हुने भएको छ । वन्यजन्तुको मुख्य करिडरका रुपमा रहेको दुधुवा नेशनल पार्क नजिकको क्षेत्रमा भारतले ट्रेन्च खनेर ठूलो माटोको डिल बनाउन थालेपछि वन्यजन्तुको ओहरदोहर गर्ने मार्ग अवरुद्ध हुने वन्यजन्तुबारे जानकारको भनाइ रहेको छ ।
भारले नेपालतर्फ रहेको डोके बजार क्षेत्रको फोहर दुधुवा नेशल पार्कमा जान नदिनका लागि डिल बनाउन लागेको दावी गर्दै आएको छ । भारतले सीमास्तम्भ नं ७५३/१७१ नजिक झण्डै ५०० मिटर लम्बाइको ड्रेन बनाएको छ ।
दश दिनअघि भारतले ट्रेन्च खन्न शुरु गरेपछि नेपाली पक्षको विरोधका कारण रोकेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुँवेर कडायतले भारतीय पक्षले दशगजा क्षेत्रभन्दा २०० मिटर परबाट डिल बनाउन थालेको बताउनुभयो ।
नेपाली पक्षसँग डिल बनाउनेबारे भारतले कुनै किसमको समन्वय नगरेको उहाँले बताउनुभयो । यसबारे यसअघिनै गृहमन्त्रालयमा जानकारी गराई सकिएको उहाँले बताउनुभयो । भारतले दूतावासबाट रोक्नका लागि पत्र आएपछि मात्रै रोक्ने जनाएको छ ।