शिक्षकले नै विद्यालयमा खुकुरी देखाए

शिक्षकले नै विद्यालयमा खुकुरी देखाए
समाज

नवलपरासीको एउटा विद्यालयमा शिक्षक एवम् पूर्वप्रधानाध्यापक खुकुरी देखाउँदै विद्यालय पुगेपछि विद्यालयमा त्रास छाएको छ । विद्यालयका प्रधानाध्यापकबाट राजिनामा दिन परेपछि आक्रोशमा आएका जितबहादुर चौधरी बुधबार एक्कासी खुकुरी लिएर विद्यालय पुगेका थिए ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ हरपुर माविमा पूर्वप्रधानाध्यापक समेत रहेका चौधरी विद्यालयमा श्रीमती र छोरी सहित होहल्ला गर्दै नयाँ शिक्षकमा नियुक्त भएका सेवरी हरिजनसँग विवाद गर्न पुग्दा विद्यालयका अन्य शिक्षकहरुले प्रतिवाद गरेका थिए । प्रतिवादको क्रममा उनले कक्षाकोठामै श्रीमतीसँग रहेको झोलाबाट खुकुरी झिकेका थिए ।

उनले लिएको खुकुरी खोस्ने क्रममा एक जना विद्यार्थीको हातमा चोट पनि लागेको स्थानीयले जनाएका छन् । पूर्व प्रधानाध्यापक एवम् हालका शिक्षक समेत रहेको चौधरीले कक्षाकोठामै खुकुरी देखाएर ताण्डव गर्न थालेपछि उनलाई नियन्त्रणमा लिन प्रहरी नै विद्यालय हाता भित्र पुग्नु परेको थियो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय विरुद्ध दुई नयाँ शिक्षक नियुक्तिका विषयलाई सदर गर्न नखोजेका चौधरीले सोही विषयमा विवाद चर्कदै गएपछि उनलाई समितिले प्रधानाध्यापकबाट हटाएर करार शिक्षक दिनेश कुमार गुप्तालाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएको थियो ।

सोही विषयले तनाबमा रहेका उनी बुधबार एक्कासी खुकुरी लिएर विद्यालय पुगेका हुन् । बुधबार दिनभर विद्यालय तनाबग्रस्त रहेपछि प्रहरीले चौधरी र उनका परिवारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय परासी लगेको छ ।

शिक्षक चौधरीसंगै विद्यालय पुगेकी उनकी श्रीमती र छोरीले शिक्षिकाहरुलाई चप्पल देखाउदै दुव्र्यवहार समेत गरेको शिक्षिका सेवरी हरिजनले बताइन् ।

निमित्त प्रधानाध्यापक दिनेश कुमार गुप्ताले कक्षाकोठामै खुकुरी देखाएर विद्यालयमा त्रासको वातावरण सिर्जना भएपछि प्रहरीलाई खबर गरेको बताए । विद्यालय आएका प्रहरीले उनको साथबाट दुईवटा खुकुरी समेत बरामद गरेको छ ।

घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । विद्यालयमा करार शिक्षकको रुपमा पुष २२ गते हाजिर भएका सेवरी हरिजन र दशरथ गुप्ताको नियुक्ती समर्थन गराउ चौधरीले आलटाल गर्दै आएको थिए । सोही कारण उनले गनत फागुन १ गते राजिनामा दिनु परेको थियो । उनको राजिनामा पछि विद्यालयले राजिनामा स्वीकृत गरी गुप्तालाई निमित्त प्रधानाध्यापक गराएको थियो ।

Post Comment