हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ दर्शक सङख्यामा वृद्धि भएको छ । महोत्सव यहि बैशाख १ गतेसम्म चल्नेछ ।
शुक्रवार एकै दिन कुल ७ हजार दर्शकले महोत्सव अवलोकन गरेको स्वयम् सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव)ले जानकारी दिए ।शुक्रवारसम्म कुल ३७ हजार दर्शकले महोत्सव अवलोकन गरेको उनको भनाई छ ।त्यसै हालसम्म कुल १५ लाख ६० हजार बराबरको आलुको कारोवार भएको जनाइएको छ ।
शुक्रवारको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका निर्देशक डा.तुलबहादुर पुनले आलुको लोकप्रियता दिनानुदिन बढ्दै गएको चर्चा गर्दै आलु आयुर्वेदिक हिसावले पनि महत्वपूर्ण रहेको प्रष्ठ पारे ।उनले आलुको सेवन स्वास्थ्यका लागि अत्यावश्यक जस्तै भएको भनाई राख्दै त्यसको प्रयोगले कोलेस्ट्रोल घटाउन मदत्त पुग्ने पनि औँल्याएका थिए ।
महोत्सवमा शुक्रवार लोकदोहोरीतर्फ पशुपति शर्मा, जगत गौडेल, सीता परियार, रमेश विजी, कुमार पुन, वसन्ती थापा, केशव घिमिरे र शिवहरी ढुङगाना, हास्यतर्फ यमन श्रेष्ठ(मन मास्टर)ले दर्शकलाई मनोञ्जन दिएका थिए ।त्यस्तै रत्यौली गीत प्रतियोगिता र राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिताले पनि निरन्तरता पाएको थियो।
महोत्सव अन्र्तगत शनिवार लोकदोहोरीतर्फ नविन पौडेल, रमेश विजी, घनस्याम रिजाल, कृष्ण भण्डारी, ज्योति लोहोनी, विनोद रामदाम, रेनु गुरुङ, हास्यतर्फ सुरज भिरखैरे तथा कन्सर्टतर्फ आगमन ब्याण्ड र बबी सुनारका प्रस्तुतिहरु रहने सांस्कृतिक उपसमिति संयोजक सुर्यबहादुर कुँवरले बताएका छन् ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।जसका आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी ,टर्कीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।
मुल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रम कलाकार शिवहरी ढुङगानाले संचालन गरेका थिए ।