ताण्डब सम्पादक पत्रकार गिरी रिहा

ताण्डब सम्पादक पत्रकार गिरी रिहा
समाज

पोखराका पत्रकार अर्जुन गिरी काठमाण्डु जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई रिहा गर्ने निर्णय गरेको हो ।

पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक तथा ताण्डव न्यूज डट कमका सम्पादक अर्जुन गिरीलाई व्यवसायी विपेन्द्रराज बतासका बारेमा समाचार लेखेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई साइबर क्राइमअन्तर्गत पक्राउ गरिएको बताइएको थियो ।

तर एकजना व्यापारीको ठगीका बारेमा समाचार लेखेकै भरमा गिरीलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा देशैभर उनको रिहाइको माग गर्दै प्रदर्शन भएको थियो ।

पत्रकार महासंघले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर समाचार लेखेकै कारण साइबर क्राइम मुद्दामा पत्रकार पक्राउ परेको घटनाप्रति खेद व्यक्त गरेको थियो ।

पत्रकारहरुसँगको भेटमा मन्त्री बाँस्कोटाले गिरी पक्राउ प्रकरण निकै दुःखद भएको बताएका थिए । प्राविधिक कमजोरीका कारण गिरी पक्राउ परेको बताउँदै मन्त्री बाँस्कोटाले आयन्दा यस्तो घटना नदोहोरिने बताए ।

विद्युतीय कारोबार ऐनमा भएको कमिकमजोरीलाई सच्चाएर ऐन संशोधन गर्न सरकार तयार रहेको पनि उनले बताए । महासंघले आजै गृहमन्त्रालयमा पनि ज्ञापन पत्र बुझाएको थियो ।

महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ मा भएको व्यवस्थाले पत्रकारहरुलाई अपराधी जसरी नै पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेज गर्न माग गरेको छ ।

लोकतान्त्रिक गणतन्त्रमा पनि प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ ले राखिएको भन्दै महासंघले त्यसलाई हटाउन माग गरेको हो ।

Post Comment