बंगालकाे खाडीमा सक्रिय चक्रवात ‘फानी’काे प्रभाव नेपालमा पनि पर्ने भएकाे छ।
उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना नदेखिए पनि यसको प्रभाव भने नेपालमा पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सी (शनिबार ) मौसममा बदली हुने महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार चक्रवातका कारण पूर्वी र मध्य नेपालमा मेघ गर्जन/चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहको छ। ‘हिमाली भू-भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ’, महाशाखाकाे माैसमी अपडेटमा भनिएकाे छ।
आइतबारदेखि भने देशभर मौसममा क्रमिक रुपमा सुधार आउने जनाइएकाे छ।
हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा चक्रवात ‘फानी’ सक्रिय छ र बिस्तारै उत्तर-पूर्वी दिशातर्फ बढिरहेको छ| शुक्रबारबाट यो प्रणाली भारतकाे उडिसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेकाे छ। साेपश्चात् यो प्रणाली फेरि उत्तर- पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने पनि माैसमविदहरुले जनाएका छन्।