गर्मीले तराईको जनजीवन कष्टकर

गर्मीले तराईको  जनजीवन कष्टकर
समाज

सप्तरी सहित तराईका जिल्लामा पछिल्लो एकसातादेखि चर्कोघामसँगै बढेको अत्यधिक गर्मीले जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

सप्तरीको सोमबार तामक्रम ४१÷४२ डिग्रीसम्म पुगेको छ । यससाता बिहानदेखि बेलुकासम्म चर्को घामसँगै बढेको गर्मीले सप्तरी, सिरहा, सुनसरी, धनुषा सहित तराईकोे जनजीवन निकै अत्यन्त कष्टकर भएको छ । गर्मीले घरमा बसेको बेलापनि पसिना आइरहने अवस्था छ भने घर बाहिर चर्को घाममा निस्केर हिड्न साह्ै मुस्किल छ । चर्को घामको रापले घरभित्रका सबैबस्तु तातो नै हुने गरेको छ । घाममा हिड्ने सर्वसाधारणमा लु लाग्ने गरेको छ । चर्को घामका कारण अत्यन्त जरुरी काम बाहेक दिउँसो घर बाहिर निस्किन छाडेका छन ।

माथीबाट चर्को घामसँगै जमिनबाट तातो हुने गरेको छ । सामान्य हावा पनि तातो नै चल्ने गरेको छ । अत्यधिक गर्मीले पंखामुनि बस्दा शितलता प्राप्त भइनरहेको अवस्थामा अर्घनग्न भएर बस्नु परेको अवस्था देखिन्छ । जिउँमा लुगा लगाएपनि नलगाएपनि पसिनाले निथ्रुक्क भिजेकै हुन्छ । खलखली पसिना आइरहने गरेको राजविराज नगरपालिका ८ का देवनारायण गुरमैताले बताउनुभयो ।

यता गर्मीका कारण बस व्यवसायी, किसान, मजदूर, विद्यार्थी, व्यापारी, सर्वसाधारण मारमा परेका छन् । गर्मीले राजविराज नगर सहित जिल्लाका कञ्चनपुर, कल्याणपुर, बोदेबर्साइन, हनुमाननगर, भारदह, महुली, रुपनी कठौना, पातो लगायतका बजार दिउँसो सुनसान हुने गरेका छन् । ती बजारहरुमा उपभोक्ताहरुको चाप घटेकाले व्यापार व्यवसाय प्रायः ठप्प रहेको व्यवसायीहरु बताउँछन । चर्को घामसँगै बढेको गर्मीका कारण विद्यालयहरु बिहान सञ्चालनमा ल्याएका छन ।

गर्मीले बालबालिका, बृद्धबृदा बढी बिरामी पर्न थालेको छ । उनीहरुमा ज्वरो, टाइफाइड, टाउको दुख्ने जस्ता बिरामी देखा परेको अस्पतालले जनाएको छ । अहिले गर्मीको सुरुवाती अवस्था रहेकोले यस्ता विरामी दैनिक पाँच÷दश जना आउने गरेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ । दिनानुदिन गर्मी बढ्दै गएको छ, अस्पतालका स्वास्थ्यकर्मी विपिन देवले भन्नुभयो, यस्तै गर्मी रह्यो भने विरामी संख्या अत्यधिक बढन सकिने छ । गर्मी मौसममा रोगको जोखिम बढी हुने भएकाले खानपिन तथा सरसफाइका साथै दिउँसो घाममा नडुल्न र प्रशस्त पानी खान डा. टेकनारायण मण्डलको सल्लाह छ ।

Post Comment