पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव एक कार्यक्रमबीच मनाएको छ । संस्थाले वार्षिकोत्सबको अवसरमा संस्थाको प्रधान कार्यालय पोखरा १० बुद्धचोकमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय २ युनिट रगत संकलन भएको छ ।
हाल रगतको अभाव भइरहेको समयमा रोयलले गरेको रक्तदान कार्यक्रमले थोरै हदसम्म पनि टेवा पुगेको छ । प्रमुख अतिथि नेफस्कुन अध्यक्ष डि.बी बस्नेतले २५औं पटक रक्तदान गरिसकेका संस्थाका मुख्य प्रबन्धक मीलन ढकाललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोग थियो ।
संस्थाले मधुमेह सम्बन्धी सचेतना कार्यक्रम समेत सम्पन्न गरेको छ । सचेतना कार्यक्रमको प्रशिक्षणमा डा. सरोज पोखरेलले मधुमेह सम्बन्धी जानकारी दिएका थिए । रोगका लक्षण, स्वास्थ्यमा पार्ने असर साथै नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारेमा उनले भनाइ राखेका थिए ।
संस्थाका अध्यक्ष तुलसी प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डि.बि. बस्नेतले सहकारी संस्थाले वित्तीय कारोबारमा मात्र सीमित नभएर सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने बताए । ‘समुदायमा आधारित रहेर सहकारी संस्था सञ्चालन गर्नुपर्छ,’ उनले भने । रक्त सञ्चार केन्द्र कास्कीका ध्रुवमणि लमिछानेले हरेक व्यक्तिले ९० दिनको फरकमा रक्तदान गराउँदा स्वास्थ्यमा समेत राम्रो हुने बताए ।
सोही अवसरमा संस्थाबाट नियमित प्रकाशन हुने सहकारी समाचार वुलेटिनको विमोचन समेत गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रुद्रकुमारी गुरुङले र कार्यक्रम सञ्चालन संस्थाका सचिव भीम बहादुर गुरुङले गरेका थिए ।
संस्थाको प्रधान कार्यालय वुद्धचोक सहित महेन्द्रपुल सेवाकेन्द्र र लेखनाथ सेवाकेन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ । हाल संस्थामा ५ हजार २ सय ४३ जना सदस्य, १८ करोड ४९ शेयर, १ अर्ब १९ करोड बचत, १ अर्ब २१ ऋण रुपैयाँ लगानी छ । विभिन्न कोषमा १४ करोड गरी १ अर्ब ६६ करोड कुल सम्पत्ती रहेको सचिव भीम गुरुङले जानकारी दिए । ३५ जना कर्मचारीलाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको र सहकारी विभाग र नेफस्कुनले ल्याएको प्रोवेशन कार्यक्रममा समेत सहभागिता जनाएको संस्थाका मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिए ।